पथरी । मोरङको पथरी शनिश्चरेमा प्रथम कञ्चनजंघा खुल्ला नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
पथरी शनिश्चरे – १० स्थित कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समितिले आगामी शनिबार (जेठ १०) देखि जिरिखिम्तीस्थित खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजकले आज प्रतियोगिता सञ्चालन हुने खेलमैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा आयोजक कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समितिका सचीव प्रेम केडि भट्टराईले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । जेठ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा झापा , मोरङ र सुनसरीका १६ टिमले प्रतिस्पर्धा गर्ने सचिव भट्टराईले जानकारी दिएका छन् । टि ट्वेन्टी फर्म्याटमा हुने प्रतियोगितामा दैनिक २ खेल हुने बताईएको छ ।
प्रतियोगिताको विजेता टोलीलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, उदयमान खेलाडी तथा सर्वश्रेष्ठ खेलाडीलाई पनि नगदसहित ट्रफीबाट पुरस्कृत गरिनेछ । आगामी शनिबार भव्य समारोहका बिच प्रतियोगिताको उद्घाटन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा आयोजक टोलीको जर्सीसमेत सार्वजनिक गरिएको थियो। प्रतियोगिता सञ्चालनका लागि ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने समूहका अध्यक्ष सागर थापाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा आयोजक कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समितिका अध्यक्ष सागर थापा , प्रतियोगिताका संयोजक छत्र बहादुर कार्की (सुजन) , पथरी शनिश्चरे नगर खेलकुद विकास समितिका संयोजक दिपक राई , आयोजक टिमका व्यवस्थापक महेश कार्की लगायतको उपस्थिति रहेको थियो ।