हिपमत डटकम

शनिबार, मंसिर १५, २०८१ || 1356  पटक पढिएको

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् । उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए ।

आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनका अनुसार उक्त मास प्रति किलो रु दुई सयमा बिक्री गरेका छन् । हाटबजारमा २९ जना कृषकले मास बिक्री गरेका छन् ।

उनले भने, “त्यस वडाका कृषकहरू व्यावसायिक मास उत्पादनमा लागेका छन् । मासले बजार पाउँदा कृषक खुसी छन् ।” गाउँपालिकाले हाटबजारसम्म मास ढुवानीका लागि सवारी साधनको व्यवस्थापन गरिदिएको थियो । त्यस्तै मास उत्पादन गर्ने कृषकलाई प्रति किलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको प्रमुख केसीले बताए ।

हाटबजारमा मास बिक्री गरेर एउटा कृषकले बढीमा रु ६० हजारसम्म आम्दानी गरेका छन् । खेउसिङका कृषक चन्द्रबहादुर भुजेलले आफूहरूले उत्पादन गरेको मासले बजार पाउँदा यस खेतीतर्फ लाग्न हौसला मिलेको बताए । उनले भने, “मासको ढुवानी पनि गाउँपालिकाले नै गरिदिएको छ । उत्पादनका आधारमा अनुदानको व्यवस्था पनि मिलाउँदा कृषकलाई सहज भएको छ ।”

भकुण्डीका ईश्वर गुरुङ, खेउसिङका ईश्वर गुरुङ, मजुवाका मनबहादुर भुजेलले व्यावसायिक रूपमा मास खेती गरिरहेका छन् । आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले गाउँ–गाउँ पुगेर मास सङ्कलन गरी हाटबजारसम्म ल्याउन वडाले सहजीकरण गरेको जानकारी दिए ।

गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषि उपज बिक्री वितरणका लागि प्रभावकारी थलोको रूपमा विकास भएको छ ।

हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका कृषि उपज वस्तु बिक्री वितरणका ल्याउँछन् । उपभोक्ता पनि कहिले शुक्रबार आउँछ र ताजा कृषि उपज सामग्री आउँछ भनेर कुर्छन् ।

हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!