बिहिबार, चैत्र १३, २०७६ || 815  पटक पढिएको

कोभिड–१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दूध किसानकै घरमा रोकिएको हो । नेपाल सरकारले मुलुक नै लकडाउन घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो । सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बाग्लुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध किसानकै घरमा रोकिएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताउनुभयो । अमलाचौरका कालीगण्डकी र नवनमूना, बाग्लुङ–१४ को नारायणस्थान तथा जैमिनी नगरपालिकाका पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले दूध उत्पादन गर्दै आएका थिए । ‘कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सवारी चालकहरु पनि डराए’, शर्माले भन्नुभयो, ‘हामीले पनि गर्नैपर्छ भन्न सकेनौंँ ।’ त्रास कम हुने समयसम्म किसानलाई घरमै खुवा (कुराउनी), पनिरलगायत उत्पादन गर्न भनिएको उहाँले बताउनुभयो । दूध उत्पादन गर्दै आएका किसानले भने गाईभैँसीलाई नै दूध खुवाउनुपर्ने अवस्था आएको बताएका छन् । पल्लोपाखा, नवनमुना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध सङ्कलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको एक हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने पाँच सय लिटर दूध गाउँमै रोकिएको हो । दूध रोकिएसँगै किसानले दाना चापटको प्रबन्ध गर्न समेत कठिन हुने बताएका छन् । ‘दूध बिक्री हुन्थ्यो र पो दाना खुवाउन सकिन्थ्यो’, किसान क्षमकला शर्माले भन्नुभयो, ‘दूध नबिक्दा न त दाना किन्ने स्रोत हुन्छ, न दाना ल्याउने सवारी साधन नै चलेका छन् ।’ व्यावसायिक रुपमा दधको उत्पादन थालेका किसानलाई ऋणको किस्ता तिर्नसमेत कठिन हुने उनीहरुको गुनासो छ । ‘ऋण खोजी गाई किनेर पालिएको छ, दूध बिके किस्ता तिर्ने स्रोत बन्छ’, अर्का किसान हेमराज शर्मा भन्नुहुन्छ, ‘गाईभैँसीलाई खुवाइएको दूधबाट के प्रतिफलको आश गर्नू ?’ अत्यावश्यक वस्तु भएकाले आवश्यक सुरक्षाको प्रबन्ध गरेर दूध ढुवानी रोक्न नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!