विश्वफुटबलमा पछिल्लो दशक तहल्का मच्चाएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस सँधै चल्दै आएको छ । कतिपयले मेस्सीलाई उत्कृष्ट भन्ने गरेका छन् । कतिपयको दृष्टिमा रोनाल्डो उत्कृष्ट देखिन्छन् । यो बहस कहिल्यै अन्त्य नहुने खालको छ ।
यसैबीच ब्राजिलियन महान फुटबलर पेलेले रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी भएको बताएका छन् । एक च्यानलसँगको अन्तर्वार्तामा पेलेले अहिले बार्सिलोनाका कप्तान मेस्सी भन्दा युभेन्ट्समा जमिरहेका रोनाल्डो उत्कृष्ट भएको धारणा राखेका हुन् ।
‘रोनाल्डो विश्व फुटबलका स्थिर खेलाडी हुन् । रोनाल्डोको लय उत्कृष्ट छ । उनी आधुनिक फुटबलले पाएको उत्कृष्ट स्ट्राईकर हुन् । रोनाल्डोको प्रदर्शन र सँधै फिट रहने क्षमता बेजोडको छ,’ ७९ बर्षीय पेलेले भने । पेलेले आफुलाई रोनाल्डो उत्कृष्ट लागेपनि मेस्सीलाई विर्सन नहुने बताए । उनले मेस्सी पनि आधुनिक फुटबलले पाएको राम्रो खेलाडी भएको पेलेले बताए ।
मेस्सी र रोनाल्डोले विश्व फुटबलका प्रायजसो उपलब्धि हात पारिसकेका छन् । फुटबलका यी दुई स्टारको नाममा धेरै कीर्तिमान बनेको छ । बालोल डी’ओरको पछिल्लो १२ अवार्डमा मेस्सीले ६ र रोनाल्डोले पाँच पटक जितेका छन् । यसले पनि को उत्कृष्ट भने छुट्याउन धेरैलाई गाह्रो हुन्छ । क्लब फुटबलका दुवैको प्रदर्शन बेजोड छ ।
बार्सिलोनाका सदाबहार मेस्सी र पछिल्लो समय युभेन्ट्समा जमि रहेका रोनाल्डोको प्रदर्शनमा कत्ती कमी आएको छैन । गोलको हिसावले पनि यी दुई खेलाडीको स्कोर उस्तै खालको छ । जारी सिजनमा रोनाल्डोले २५ गोल गरेका छन् । मेस्सीले २२ गोल गरेका छन् । पेलेले विश्व फुटबलका महान र सवैकालीन खेलाडी भने आफु स्वयं भएको बताए । एजेन्सी