विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आमनेपालीमा आत्मविश्वास बढाउँदै आशा जगाउनु जरुरी रहेको बताउनुभएको छ ।नयाँ वर्ष २०८१ सालको शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले पछिल्लो समय आमनेपालीमा आत्मविश्वास घट्दै जानुका साथै निराशा बढ्दै गएकाले आत्मविश्वास जगाएर आशा जगाउनुपर्नेमा जोड दिनुभएको छ ।
“देशको राजनैतिक अस्थिरता, खस्कँदो आर्थिक अवस्था, चुलिँदो बेरोजगारी समस्यालगायतका कारण आमनेपालीमा निराशा बढ्दै गएको देखिन्छ । गुमेको आत्मविश्वासलाई माथि उठाउँदै हरेक नेपालीमा आशा जगाउनु जरुरी छ,” शुभकामना सन्देशमा भनिएको छ, “हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने देखिन्छ ।
ठूलो संख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न रोजगारी र अवसरहरूको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाई गरिनु हुँदैन भन्ने मलाई लाग्छ । राजनैतिक रुपमा देखिएका कमीकमजोरीलाई सच्याउँदै अब सबैको ध्यान आर्थिक क्रान्तितर्फ केन्द्रित हुनुपर्दछ ।”
उहाँले हरेक नयाँ वर्षलाई विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ । कोइरालाले नयाँ वर्षलाई आशा, अपेक्षा र उमंगको उत्सवका रुपमा पनि लिनुपर्ने बताउनुभयो ।
सीमित स्रोत र साधनका बाबजुत पनि विराटनगरको समग्र विकासमा महानगरपालिका दत्तचित्त भएर लागिरहेको सन्देशमा उल्लेख गर्नुभएको छ । “महानगरवासीको असीमित इच्छा र चाहनालाई हाम्रो सीमित स्रोतबाट परिपूर्ति गर्न लागिपरेका छौं ।
भौतिक संरचनाको निर्माणसँगै जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीतिहरू अवलम्बन गर्दै अगाडि बढिरहेको जानकारी गराउँदछु,” शुभकामना सन्देशमा उल्लेख छ, “विराटनगरलाई सफा, सुन्दर, हराभरा र व्यवस्थित बनाउने अभियानमा सहयोग गर्न महानगरवासीलाई आह्वानसमेत गर्दछु ।”
उहाँले नयाँ वर्षले सामाजिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता कसिलो बनाउँदै देशमा दिगो शान्ति, आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारहरूलाई हटाउँदै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्नुभएको छ ।