बेनी — म्याग्दीमा ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानअन्तर्गत एक महिनाको अवधिमा ११५ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन तथा वन–जङ्गलमा बढ्दो चोरी–सिकारीलाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यो अभियानबाट अहिलेसम्मकै सबैभन्दा धेरै भरुवा बन्दुक बरामद गर्न प्रहरी सफल भएको हो।

बरामद भएका बन्दुकमध्ये सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान रहेका छन्। यस्तै अन्नपूर्ण गाउँपालिकाबाट १६, मालिका गाउँपालिकाबाट २०, मङ्गला गाउँपालिकाबाट १४, धवलागिरि गाउँपालिकाबाट ६ र बेनी नगरपालिकाबाट ११ थान इजाजत पत्रबिनाका भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

म्याग्दीमा पर्ने ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र तथा विभिन्न सामुदायिक वन क्षेत्रमा चोरी–सिकारी बढ्दै गएको र गाउँघरमा आपसी विवाद तथा झैँ–झगडामा भरुवा बन्दुक दुरुपयोग हुने जोखिम बढेकाले अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार प्रहरी गस्ती, मातहतका एकाइ तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा र बसोबास नभएका खाली घरमा लुकाएर राखिएका अवस्थामा अवैध बन्दुक बरामद गरिएको हो।

बरामद गरिएका अधिकांश भरुवा बन्दुक स्थानीयस्तरमै बनाइएका र चल्ने अवस्थामा रहेको पाइएको छ। इजाजत पत्रबिनाका भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!