हिपमत डटकम

सोमबार, मंसिर १२, २०७९ || 3293  पटक पढिएको

मोरङ — प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्ने संकेत देखिएको छ । दुई वटा क्षेत्र जितेको राप्रपाले समानुपातिकतर्फ मत बढाएसँगै एमाले गठबन्धन सबल देखिएको हो । यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५० क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।

एमालेका वसन्तकुमार नेम्वाङसहित विजयी र्‍यालीमा । तस्बिर : लक्ष्मी गौतम/कान्तिपुर

जसमा एमालेले २३, कांग्रेस १४, माओवादी केन्द्र ९, राप्रपा र नेकपा (एकीकृत समाजवादी) २/२ क्षेत्र जितिसकेका छन् । बाँकी ६ वटा क्षेत्रमध्ये एमाले १, कांग्रेस ३ र एकीकृत समाजवादी एउटा क्षेत्रमा अगाडि रहे पनि अन्तिम मत परिणाम आउन बाँकी छ ।

सुनसरी ३(२) मा एमालेले सुरुवाती अग्रता लिएपछि एमाले गठबन्धनको सरकार बन्ने संकेत देखिएको हो । एमालेको सरकार बन्नेमा समानुपातिक मतको रुझान पनि देखिएको छ । समानुपातिकमा मत प्राप्तिको आधारमा एमाले पहिलो, कांग्रेस दोस्रो, राप्रपा तेस्रो, माओवादी केन्द्र चौथो, जनता समाजवादी पाँचौं, एकीकृत समाजवादी छैटौं स्थानमा छन् । एमालेले जितिसकेका २३, जितनिकट रहेको सुनसरी १(२) र सुरुवाती अग्रता लिएको सुनसरी ३(२) गरी २५ सिट पुर्‍याउने सम्भावनामा राप्रपाको २ गरी एमाले गठबन्धनको प्रत्यक्षतर्फ २७ सिट पुग्ने देखिन्छ । सत्ता गठबन्धन दल कांग्रेसले जितिसकेको १४ र जितनिकट रहेको ३ सहित १७, माओवादी केन्द्रले ९ र नेकपा (एकीकृत समाजवादी) ले २ जितिसकेको र इलाम १(१) मा जितनिकट रहेको गरी २९ सिट पुग्ने देखिएको हो ।

पहिलो प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको ३७ प्रदेश सांसदमध्ये कुल १७ लाख ३६ हजार ७ सय ९ सदर मतमध्ये ६ लाख ७३ हजार ७ सय ९ मत ल्याएर १५ प्रदेश सांसद पाएका एमालेले आइतबार साँझ ६ बजेसम्ममा अहिले गणना भएकोमा ४ लाख ९२ हजार ३ सय ६९ मत प्राप्त गरेको छ । यस्तै, अघिल्लो प्रदेशसभामा समानुपातिकतर्फ ५ लाख ८६ हजार २ सय ४६ मत ल्याएर १३ प्रदेश सांसद पाएको कांग्रेसले ४ लाख १९ हजार ९ सय २५, गत प्रदेशसभामा ५७ हजार ३ सय ४२ मत ल्याएर एउटा समानुपाति प्रदेश सांसदमा चित्त बुझाएका राप्रपाले यसपटक १ लाख ४९ हजार ७० मत प्राप्त गरिसकेको छ ।

यस्तै, पहिलो प्रदेशसभामा २ लाख ६ हजार ७ सय ८१ मत ल्याएर ५ वटा समानुपातिकतर्फ प्रदेश सांसद पाएको माओवादी केन्द्रले १ लाख ४४ हजार २ सय ७१, ७० हजार ४ सय ७६ मत ल्याएर २ वटा समानुपातिकबाट प्रदेश सांसद पाएको तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीले ४९ हजार ५ सय ४९ मत प्राप्त गरिसकेको छ । एकीकृत समाजवादीले ४५ हजार ३ सय ७० मत प्राप्त गरेको छ । अघिल्लो पटक २६ हजार १ सय २३ मत ल्याएर समानुपातिकबाट एउटा प्रदेश सांसद पाएको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १९ हजार ४ सय २४ मत प्राप्त गरेको छ ।

 

समानुपातिकतर्फ दलहरूले प्राप्त गरिरहेको मतको रुझानका आधारमा एमालेले १४ देखि १५, कांग्रेसले १२ देखि १३, राप्रपाले ३ देखि ४, माओवादी केन्द्रले ३, जनता समाजवादी पार्टीले २, एकीकृत समाजवादीले एउटा प्रदेश सांसद पाउने देखिएको छ । यस प्रदेशको कुल ३३ लाख ९६ हजार ८ सय ६५ मतदातामध्ये ६० दशमलव ४९ प्रतिशतले मतदान गरेकामध्ये आइतबार साँझसम्ममा समानुपातिकतर्फ १४ लाख २५ हजार ७ सय ७१ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

९३ सदस्यीय प्रदेशसभामा समानुपातिकतर्फ विपक्षी गठबन्धन दल एमालेले १४/१५, राप्रपाले ३/४ र जनता समाजवादीले २ गरी २० र प्रत्यक्षतर्फ २७ गरी प्रदेश सरकार बनाउन आवश्यक ४७ प्रदेश सांसद पुर्‍याउने देखिएको छ । सत्ता गठबन्धन दल कांग्रेसले १२/१३, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले १ गरी समानुपातिकतर्फ १६/१७ र प्रत्यक्षतर्फ २९ गरी कुल ४५/४६ प्रदेश सांसद पुग्ने देखिएको हो ।

समानुपातिकतर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १९ हजार ४ सय २४, मंगोल नेसनल अर्गनाइजेसनले १९ हजार ६३, जनमत पार्टीले १८ हजार ८ सय ९४ र हाम्रो नेपाली पार्टीले १७ हजार ५ सय ६८ मत प्राप्त गरिसकेका छन् । यी दलमध्ये कुनै पनि दलले प्रदेशसभामा कायम गरिएको १.५ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको अवस्थामा त्यो दल नै प्रदेश सरकार गठनको निर्णायक बन्ने छन् । अघिल्लो प्रदेशसभामा समानुपातिकतर्फ एउटा प्रदेश सांसद पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ५ दलीय गठबन्धन सरकारमा राज्यमन्त्री प्राप्त गरेको छ ।

प्रदेश सांसदमा एमालेबाट निर्वाचित भएकामध्ये केन्द्रीय नेता अर्थात् पार्टीको स्थायी कमिटी सदस्य हिक्मत कार्की मात्रै छन् । उनी एमालेको संसदीय दलको नेता र गठबन्धनको सरकार बन्ने अवस्थामा मुख्यमन्त्रीका लागि निर्विकल्प रहेको निर्वाचित प्रदेश सांसदहरूको भनाइ छ । सत्ता गठबन्धन दलमा मुख्यमन्त्रीका आकांक्षीहरूले आ–आफ्ना दलको नेताका लागि निर्वाचित प्रदेश सांसदहरूसँग छलफल सुरु गरिसकेका छन् । सत्ता गठबन्धन दल कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षी आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, केन्द्रीय सदस्यत्रय प्रदीपकुमार सुनुवार, अमृत अर्याल, भीम पराजुली, प्रदेश १ सभापति उद्धव थापा, प्रदेश समिति महामन्त्री भूपेन्द्र राईले दलको नेताका लागि पहल थालेका छन् । थापाको नाम कांग्रेसको समानुपातिक सूचीमा १ नम्बरमा सिफारिस छ ।

उनले पार्टीको प्रदेश सभापतिको हैसियतले पनि आफूले अवसर पाउनुपर्ने बताउँदै आएका छन् । मन्त्री कार्कीले आफूले पहिलो प्रदेशसभामा पनि दलको नेतामा प्रयास गरेर प्रमुख सचेतकमा चित्त बुझाएकाले यसपटक अवसर पाउनुपर्ने बताए । अर्यालले पार्टी नेतृत्वले प्रतिनिधिसभा सदस्यमा छाडेर प्रदेश सम्हाल्नकै लागि प्रदेशसभामा पठाएको बताएका छन् । उनीहरूमध्ये सुनुवार, अर्याल र राई पार्टी सभापति शेरबहादुर देउवानिकट, पराजुली र थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र कार्की कांग्रेस नेता शेखर कोइरालानिकट हुन् । माओवादी केन्द्रबाट मन्त्री इन्द्रबहादुर आङ्बो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य, हर्कबहादुर लावती र एकीकृत समाजवादीबाट मुख्यमन्त्री राजेन्द्रकुमार राई पनि मुख्यमन्त्रीका आकांक्षी देखिएका छन् । उनीहरूले आफूहरू निर्वाचित भएर गएपछि मुख्यमन्त्री बन्ने भन्दै मतदातासँग मत मागेर निर्वाचित भएका हुन् ।

पहिलो प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको बलमा ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३६ र माओवादी केन्द्रले ११ गरी ४७ वटा क्षेत्रमा जितेका थिए । कांग्रेसले ८ र तत्कालीन संघीय समाजवादी फोरमले एउटा क्षेत्रमा चित्त बुझाएका थिए । यस प्रदेशमा कुल ३७ जना समानुपातिक प्रदेश सांसदमध्ये सबभन्दा बढी एमालेले १५, माओवादी केन्द्रले ५, कांग्रेसले १३, संघीय समाजवादीले २, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ जना प्रदेश सांसद पाएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेले एक्लै बहुमत ५१ वटा सिट प्राप्त गरेको थियो । जसमा माओवादी केन्द्रसहित दुई तिहाइभन्दा बढी हैसियतको सरकार गठन गरेर साढे तीन वर्ष प्रदेशको बागडोर एमालेले सम्हालेको थियो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) भएपछि सरकारबाट बाहिरिनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!