हिपमत डटकम

आइतबार, आश्विन ०२, २०७९ || 2211  पटक पढिएको

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् । बिपन्न परिवारका ७२ बर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो ।

स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो । डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए । तर, दयनीय आर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन । कालिचरणका छोरा बैदेशिक रोगजारीका लागि भर्खरै दुवई गएका छन्, विदेश जाँदा लागेको ऋण पनि तिरिसकेका छैनन् । घर बनाउँने काममा ज्यालादारी मजदुरी गरेर बुहारीले घर धान्दै आएकी छन् । चौधरी परिवारसँग घर भएको १० धुर जग्गा बाहेक अन्य सम्पत्ति छैन । पैसा नभएका कारण उपचार कसरी गराउँने भन्ने समस्याले उनीहरुलाई पिरोलेको थियो ।

डा.शर्माले चौधरी परिवारको अवस्था थाहा पाएपछि निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् । विपन्न नागरिक औषधि उपचार कोषबाट पनि उपचारमा सहुलियत प्राप्त भयो । बाँकी सम्पूर्ण उपचार खर्च डाक्टर शर्माले निःशुल्क गराइदिएका हुन् ।

पैसा अभावमा उपचार गर्न नसकिरहेका बेला डा.शर्माले उपचारमा सहयोग गरेको भन्दै विरामी कालिचरणकी बुहारी गुञ्जा चौधरीले खुशी व्यक्त गरिन् । ‘पैसा नभएर उपचारमा समस्या भइरहेका बेला सुनिल सरले सबै उपचार खर्च निःशुल्क गरेर ठूलो गुन लगाउँनु भयो,’ चौधरीले भनिन् । उपचारका क्रममा करिब १ हप्ताको अस्पताल बसाईपछि चौधरी अहिले डिस्चार्ज भएर घर फर्किएका छन् । अहिले उनको स्वास्थ्य अवस्था समान्य रहेको परिवार स्रोतले जनाएको छ ।

डा.शर्माले यसअघि पनि गरिब तथा बिपन्न हजारौं विरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । अरुको दुखमा साथ दिदै आएका डा.शर्माले सडकमा भेटिने वेवारिसे विरामीहरुलाई पनि नोबेल अस्पताल ल्याई उपचार गराउँने गरेका छन् । उनले कतिपय विपन्न विरामीलाई आर्थिक सहयोग पनि गरेका छन् । समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बनाउँन सिफारिस पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!