एर्लिङ हालान्डको दुई गोलको सहयोगमा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शानदार सुरुआत गरेको छ ।
सिटीले मंगलबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई ४-० गोल अन्तरले हराएको हो । समूह चरण अन्तर्गत पहिलो खेलमा सिटीलाई जित दिलाउन हालान्डले दुई गोल गरे । त्यस्तै फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे ।
हालान्डले खेलको २० औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । ५८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
हालान्डले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३-० को बनाए । खेलको इन्जुरी समयमा डियासले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।
जितसँगै सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ । यता सेभियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।