हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 42718  पटक पढिएको

बिराटनगर । नेकपा (माओवादी केन्द्र)का भर्खरै पोलिटब्यूरो सदस्यमा बढुवा भएका मोरङ इन्चार्ज गोपीबहादुर अछामी (सार्की)ले एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।

एमाले स्रोतले दिएको जानकारी अनुसार अछामी नेकपा विभाजनसँगै एमालेमै रहन चाहेका थिए । यद्यपि उनी राष्ट्रियसभा सदस्य रहेको कारण पद गुम्ने डरले माओवादीमै रहेका थिए । हाल एमालेको केन्द्रीय सदस्य तथा मोरङको क्षेत्र नम्बर ४ बाट एमालेले सिफारिस गरेको एक्लो उम्मेद्वार विनोद ढकाललाई भोट माग्दै सामाजिक सञ्जाल फेसबुकमा अछामीले पोष्ट गरेपछि उनी एमालेमा प्रवेश गर्न लागेको चर्चा चुलिएको छ । फेसबुकमा उनले पछाडिपट्टी सूर्य चुनाव चिन्ह रहेको विनोद ढकालको फोटो पोष्ट गर्दै राम्रो मान्छेले चुनाव जित्नुपर्ने उल्लेख गरेका छन् ।
माओवादी केन्द्रले केन्द्रमा एमालेलाई हराउन गठबन्धनको कसरत गरिरहेका बेला अछामीले पोष्ट गरेको यो स्टाटसले जिल्लामा तरंग पैदा गरेको छ । ‘पार्टी फरक भए पनि तपाईको सफलतामा म कहिल्यै बेखुस हुने छैन, हार्दिक बधाई छ कमरेड,’ आइतबार ढकालको तस्बिर पोष्ट गर्दै अछामीले भनेका छन् ।

उनले अर्को पोष्ट गर्दै लेखेका छन्, ‘नेकपा एमाले मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेद्वारमा सर्वसम्मत सिफारिस हुनुभएकोमा मित्र विनोद ढकालज्यूलाई हार्दिक बधाई तथा विजयको लागि शुभकामना ।’ त्यति मात्रै होइन उनले आफ्नै पोष्टमा कमेन्ट गर्दै ‘असल मानिसले खराब गर्दैनन्, असल मानिसहरुलाई अगाडि बढाउनु हामी सबैको कर्तव्य हुनजान्छ ।’
केही दिन अघि उनले दुई वृद्ध–वृद्धा श्रीमान श्रीमतीको स्केच र ढकालसँग आफ्नो स्केच जोडेर फोटो पोष्ट गरेका थिए । उनले त्यसबेला पनि लेखेका थिए, ‘विगत सम्झदा दोस्ती दुईभाईको ।’

उनले एमालेको प्रचार गरेको ढकालको क्षेत्र मोरङ ४ मा यसअघि माओवादी केन्द्रका अमनलाल मोदीले निर्वाचन जितेका थिए । यस पटक पनि सत्ता गठबन्धन हुँदा सो क्षेत्र माओवादी केन्द्रले नै पाउने चर्चा छ । उक्त क्षेत्रबाट माओवादी नेता मोदी एकल रुपमा सर्वसम्मत उम्मेद्वार सिफारिस भइसकेका छन् । अछामीले मोदीलाई भने शुभकामना दिएका छैनन् । आफ्नै पार्टीबाट सिफारिस भएका मोदीलाई शुभकामना र बधाई नदिनु तथा एमालेका उम्मेद्वार ढकाललाई बधाई दिनुले उनी एमालेकरण हुन लागेको माओवादी स्रोत बताउँछ ।

उनी नेकपा हुँदा मोरङमा एमाले नेता ढकालसँगको सम्बन्ध प्रगाढ बनाएका थिए । ढकालसँगकै संगतले उनले पार्टी छोड्न लागेको कतिपयको विश्लेषण छ । उनी ढकालले विराटनगरका मारवाडी समुदायबाट उठेको चन्दाको हिस्सेदारी समेत रहेको माओवादी वृत्तमा चर्चा छ ।
माओवादी केन्द्रबाट अछामी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए भने ७० सालमा भने पराजित भएका थिए । नेकपा छँदा ढकालकै सिफारिस र जोडबलमा राष्ट्रियसभा सदस्यका उम्मेद्वार बनेका अछामीले निर्वाचन जितेका थिए । उनी हाल राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!