काठमाडौं। अविरल वर्षाका कारण पहाडी र तराई क्षेत्रमा ४३ जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेका छन् ।
नारायणी, राप्ती, रिउलगायतका ठूला तथा साना नदी र खोलामा पानीको सतह बढिरहेको र देवघाटमा नारायणी नदीमा खतराको नजिक पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
नारायणी नदीमा पानीको सतह खतरानजिक पुगेपछि पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गण्डक बाँधका सबै ३६ वटा ढोका खोलिएको छ । नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको सबै ढोका खोलिएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत जेठ तेस्रो सातादेखि वर्षाका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा तीन जना बेपत्ता रहेको र ३९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ ।
हालसम्म बाढीपहिरोबाट ८२ घर पूर्ण क्षति र ६४ वटा घरमा आंशिक क्षति पुगेको छ ।
बाढीपहिरो तथा डुबानबाट क्षति भएका क्षेत्रमा तथा अन्य जिल्लामा पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी आवश्यक उपकरणसाथ तैनाथ राखिएको छ ।
गृह मन्त्रालयले बाढीपहिरो तथा डुबानबाट घरवारविहीन बनेको परिवारलाई तत्काल पुनर्स्थापना गरी १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ भने मृतकका परिवारलाई दुई लाख रुपैयाँ घटनास्थलमा नै पुगेर दिने गरेको छ ।