विराटनगर । सौर्य एयरलाइन्सले नेपालमा पहिलो पटक अन्तरप्रदेशीय हवाई सेवा संचालनमा ल्याउने भएको छ । प्रदेश १ को राजधानी विराटनगर देखि लुम्बनी प्रदेशको भैरहवा र भैरहवा देखि लुम्वनी सम्म सो सेवा संचालनमा ल्याउने भएको हो ।
आगामि कात्तिक २२ गते देखि विराटनगर–भैरहवाको सिधा उडान संचलनमा आउने सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । उनले प्रत्येक दिन एक पटक नियमित रुपमा विराटनगर–भैरहवा हवाई सेवा संचालन हुने बताए ।
अध्यक्ष पोखरेलले हालका लागि दैनिक १ उडान भर्ने अनुमति पाएको र आवश्यकता परे अगामी दिनमा उडान संख्यामा वृद्धि गर्दै जाने बताए । उनले प्रति यात्रु मात्र रु. ६ हजारमा यात्रा गर्न सकिने जानकारी दिए । उडान भर्ने जहाज बम्बारडियर कम्पनीको सी आर जे २०० जेट जहाज ५० सिट क्षमता भएको हो ।
दुई प्रदेशका यात्रुलाई लक्षित गरी विराटनगर–भैरहवा हवाई सेवा संचालनमा ल्याइएको सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए । उनका अनुसार दैनिक उडानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणबाट स्वकृति पाएपछि उडान गर्ने निर्णय गरिएको हो ।
सडक यात्राबाट १२÷१३ घण्टा लाग्ने विराटनगर भैरहवाको यात्रा एयरलाइन्सको माध्यमले ५३ मिनेटमै हुनेछ । सौर्य एयरलाइन्सको ३ वटा जहाज दैनिक ९ वटा उडान भर्दै आएको छ । हाल विराटनगर, भद्रपुर, भैरहवा, धनगढिको उडान भर्दै आएको कम्पनीले जनाएको छ । निकट भविष्यमा कमपनीले नेपालगञ्ज–राजविराज र भद्रपुर–नेपालगंजको उडान भर्ने बजार व्यवस्थापक खनालले बताए ।