

नरेन्द्र ढकाल बिर्तामोड झापा
नेपाली जनताको ठूलो आशा र भारोसा बोकेका प्रधानमन्त्री केपी शर्मा ओली साँच्चै सर्वहारा जनताकै रहेछन् या पुँजीवादी दलाल र जनता शोषण गर्न पल्केका शोषकका नजिक रहेछन् भन्ने कुरा सत्ताको बागडोर सम्हालेको २१ महिनापछि छर्लङ्ग भएको छ ।
दुई तिहाईको वर्तमान सरकारले जनताको विकास र देशको समृद्धिमा ठूलै फड्को मार्ने अपेक्षा गरिएको थियो । तर, जनताको पक्षमा काम गर्ने मन्त्रीलाई कार्यसम्पादमा चित्त नबुझेको भन्दै वर्हिगमन गरिरहँदा आफू सर्वहारा जनताको कम्युनिष्ट प्रधानमन्त्री हुँ भन्न अब लाज लाग्नुपर्छ । मंसीर ४ गते गोकर्ण बिष्ट मन्त्रीबाट बिदा भएसँगै केही वैदेशिक रोजगारी र उद्योग व्यवसायमा लागेहरुको जीत भएको छ भने श्रमिकको हार भएको छ । यसले के पुष्टि गर्छ भने वर्तमान प्रधानमन्त्री दलाल र शोषण गर्न पल्केकाहरुबाट अझै पनि उन्मुक्त भएका छैनन् । उनलाई आफ्नै पार्टीभित्रका गलत ब्यक्तिहरुले अझै पनि जनतामारा काममा प्रयोग गरेर जनताको ढाड सेक्ने काम गरिरहेका छन् ।
देशभित्रै रोजगारीको सिर्जना गर्दै बाध्यकारी वैदेशिक रोजगारीलाई कम गर्दै रोक्ने रणनीतिमा यतिबेला गम्भीर धक्का लागेको छ भने समग्र श्रमिकको हक र अधिकारमा अब के हुने हो भन्ने प्रश्न उठेको छ । मुख्यतः वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारको हक र अधिकारका लागि निरन्तर लडेका व्यक्ति थिए गोकर्ण बिष्ट ।
प्रधानमन्त्रीज्यू एकपटक तपाई जनताको नेता हो भने विमान स्थलमा गएर एक दिनमा कति वटा नेपालीका लाशका बाकस आउँछ हेर्नु होला । के विदेशमा जानेलाई कडाई गर्दै यहाँ मान्छे बेच्न पल्केकाहरुलाई कानूनी कठघरामा उभ्याउनु मन्त्री बिष्टको गल्ती थियो ?
स्वदेशमै पनि अदृश्यरूपमा काम गर्न बाध्य कामदार, बाध्यकारी श्रम गर्न बाध्य भएकाहरु र न्यून ज्याला लिएर काम गर्न बाध्य श्रमिकका लागि मन्त्री बिष्टले सुनौलो दिनको सपना देखाएका थिए । सामाजिक सुरक्षा कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिकको न्यूनतम् सेवा र सुविधा, इन्स्योरेन्स आदिको सम्बन्धमा मन्त्री बिष्टले केही आशालाग्दा योजना र कार्यान्वयन गरेका थिए । तर, उनको बहिर्गमनसँगै यी योजना र नीतिको निरन्तरता हुन्छ कि हुँदैन भन्ने शंका उब्जेको छ ।
होला राम्रो काम गरे पनि चर्चामा नआएका मन्त्री बिष्टलाई हटाउँदा दलालको चङ्गुलमा फसेर प्रधानमन्त्री ओलीले दलाल र शोषकको पक्षमा निर्णय गरेको स्पष्ट हुन्छ । कार्यसम्पादनमा दोश्रो नम्बरमा रहेका मन्त्री बिष्ट कसरी असक्षम भए प्रधानमन्त्रीज्यू उत्तर छ ?
मन्त्री भए पनि सँधै श्रममन्त्रीका रूपमा २१ महिना काम गरेका गोकर्ण बिष्टले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य तथा श्रमिकका हकमा काम गर्ने धेरै कोशिस गरेका थिए । प्रधानमन्त्री कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा पनि उच्च अङ्क पाएका मन्त्री बिष्ट यतिबेला ‘कमजोर कार्यसम्पादन’ भन्दै पदमुक्त गरिए । यसमा वैदेशिक रोजगारमा संलग्न र उद्योग तथा प्रतिष्ठानमा रहेका ‘माफिया’हरुको भूमिका ठूलो रह्यो भने प्रधानमन्त्रीसँग राजनीतिक तथा वैचारिक अन्तरविरोध नै उनको दुर्भाग्य रह्यो । सर्वहारा जनताको पक्षमा काम गर्ने प्रधानमन्त्रीको अभिब्यक्तिलाई वाह ! भन्न मन लाग्यो ।
२०७५ जेठ २ गते मन्त्री भएको दुई महिना पुगेकै दिन श्रममन्त्री बिष्टले मलेसिया रोजगारीको सिण्डिकेट तोडेको घोषणा गरे । मलेसिया रोजगारीमा सिण्डिकेट खडा गरेर सञ्चालनमा रहेका माइग्राम्स, बायोमेट्रिक, आईएस्सी, भीएलएन र वान स्टप सेन्टर खारेज गरेको घोषणा गरे । त्यसलगत्तै मलेसिया रोजगारीको प्रक्रिया अवरुद्ध भयो । मलेसियामा भएका विकृतिविरुद्ध खरो रुपमा उत्रिएका मन्त्री बिष्टलाई मेनपावरका दालालहरुले रामैसँग विरोध नगरेका होइनन् । एकपछि अर्को राम्रको काम गर्दै जनता र श्रमिकको मन जित्न सफल बिष्ट अन्ततः आफ्नै पार्टीका दलालको सिकार बन्न पुगे ।
मलेसिया रोजगारीको ‘लुट’मा धक्का लागेपछि अधिकांश मेनपावर व्यवसायीले रोजगारी बन्द गराएको र खुलाउने प्रयास नगरेको भन्दै उनीविरुद्ध राजनीतिक, आर्थिक र सामाजिक आक्रमण गर्न थाले । मन्त्रीलाई हटाउनका लागि केही व्यवसायीहरुले चन्दा संकलन गरेको चर्चा पनि चुलियो । तर, आफ्नो इमान्दारितामा एक इञ्च पनि नहलिएका मन्त्री बिष्टलाई सर्वहारा प्रधानमन्त्री ओलीले चिन्न सकेनन् । जनताको पक्षमा काम गरेर वाह ! वाही ! पाएका मन्त्री बिष्टकै कारण धेरै दलालहरु पलायन हुने स्थितीमा पगेका थिए । तर, उनको वर्हिगमनसँगै दलालहरु सलबलाउन थालेका छन् ।
शहरका विभिन्न स्थानमा कोठा भाडामा लिएर सोझा साझा जनतालाई पासर्पोट दराजमा थन्कियाएर लुट्न पल्केकाहरुको दिन फर्किएको छ । कहिले सामाजिक सञ्जालमा स्टाट्स नै लेखेर खुशीयाली मनाउँदै प्रधानमन्त्रीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीज्यू दलालको बधाईभन्दा गरीब जनताको आशीर्वाद तपाईको कार्यसम्पादनमा सबैभन्दा महत्वपूर्ण हुने थियो । तर, यो विषयमा तपाईले एकपटक पनि सोच्न नसक्नु तपाईको कार्यकालकै सबैभन्दा ठूलो दुर्भाग्य हो । आखिर तपाईले पनि दलाल र शोककै पक्ष पोषण गर्नुभयो त्यसैले भन्न मन लाग्यो– वाह ! प्रधानमन्त्रीज्यू कम्युनिष्ट सरकार सर्वहारा जनताकै रहेछ ।