मोरङको पथरी शनिश्चरे नगरमा समेत कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले साउन २३ ( शुक्रबार ) राती १२ बजेदेखि
साउन ३२ गतेसम्मलाई लकडाउन गर्ने निर्णय भएको छ ।पथरी शनिश्चरे नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले हिपमत डटकमलाई जानकारी दिनु भयो।
नगर प्रमुख तथा कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले लकडाउनको समयमा अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल, दुग्धजन्य पदार्थ विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खुला राख्ने निर्णय गरेको छ । जसमा, कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।साथै अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय सहित सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका सम्पूर्ण साधन र बैंक तथा वित्तीय संस्था वन्द रहनेछन् ।
लकडाउनलाई प्रभावकारी बनाउन विशेष गरी वडा नम्वर ५ र ६ को नगरको सिमा क्षेत्रमा प्रहरी र ‘प्रहरीको साथी म’लाई परिचालन गरिने पनि निर्णय भएको छ ।कोरोना संक्रमण हुन नदिन छुट्टै क्वारेन्टिन रहेको र आवश्यक परेको खण्डमा नगरले अस्पतालमा आइसोलेसनको व्यवस्था समेत गर्ने भएको छ ।हालसम्म वन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर, फिल्म हल, धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय भएको छ ।
लकडाउनको समयमा ७० वर्षमाथिका ज्येष्ठ र १२ वर्षमुनीका बालबालिकालाई घर बाहिर ननिस्किन विशेष अनुरोध समेत गरिएको छ । लकडाउनको उल्लंघन गर्ने र मास्क नलाउनेलाई प्रहरीले जरिवाना समेत गर्ने प्रहरीको परिपत्र छ ।