नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टी कुनै व्यक्तिको अलौकिक र चमत्कारिक नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामुहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने संस्था भएको जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै उनले कम्युनिष्ट पार्टीलाई सामुहिक प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई दृढतापूर्वक व्यवहारमा लागू हुनु पर्ने पनि जनाएका छन् ।
साथै उनले कम्युनिष्ट पार्टीमा ‘अर्काको अस्तित्व स्वीकार नगर्ने र म नै सर्वेसर्वा हुँ र म नभए केही चल्दैन’ भन्ने भावनाले कम्युनिष्ट आन्दोलन हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै यहाँसम्म आइपुगेको उनले स्मरण गरेका छन् । आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी गैरकम्युनिष्ट प्रवृत्तिहरु देखा परेमा त्यसविरुद्ध दृढतापूर्वक उभिनु सबै नेता कार्यकर्ताको कर्तव्य भएको उनले जनाएका छन् ।