
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक रूपमा कमजोर रहेको भन्दै उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा शुक्रबार आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले यो कुरा बताएका हुन्।

उनका अनुसार सडकमा ट्राफिक लाइट जडान, सडक पूर्वाधारलाई अझ सुरक्षित बनाउने, र प्रहरीका भौतिक संरचना विस्तार गर्ने जस्ता कामहरू एकैपटक गर्न आर्थिक हैसियतले सम्भव छैन। तर, उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका साथ प्रयोग गर्दै क्रमिक रूपमा अघि बढ्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मन्त्री गुप्ताले ट्राफिक नियमलाई व्यक्तिगत जीवन र व्यवहारमा कडाइका साथ लागू गर्न सबैलाई आग्रह गरे। साथै, ट्राफिक र चालक–सहचालकबीचको पारस्परिक दृष्टिकोण सकारात्मक र सम्मानजनक हुनुपर्ने कुरामा पनि उनले जोड दिए।