रबिन्द्र बराल

शनिबार, कार्तिक ०२, २०८२ || 3836  पटक पढिएको

मोरङ ।मोरङको सुनवर्षी नगरपालिका–५ स्थित रमणपुरका करिब तीन सयभन्दा बढी घरपरिवार अहिले तिहारका लागि दाम्लो, मुखाडी, जाबी र डोरी बनाउने काममा भ्याइनभ्याइ छन्। साउन महिनादेखि नै थालिएको तयारी अहिले चरममा पुगेको छ ।

स्थानीय दास (केवर) समुदायका परिवारहरू घरको आँगनमै बसेर सन्पाट (पटुवा) र प्लास्टिकका डोरीबाट दाम्लो र मुखाडी उत्पादन गरिरहेका छन्। सन्पाटलाई टेडुवामा तानेर डोरी निकाल्ने, त्यसलाई रातो, पहेँलो र हरियो रंग लगाएर घाममा सुकाउने दृश्य गाउँभर देखिन्छ।

तिहारको मुख्य दिन लक्ष्मीपूजाका बेला विशेष गरी गाईपूजामा गाईबस्तुलाई नयाँ डोरी, दाम्लो र मुखाडी लगाई सजाउने सांस्कृतिक प्रचलनका कारण यो सामग्रीको ठूलो माग हुन्छ। त्यसकै लक्षित उत्पादन अहिले गाउँभर चलिरहेको हो।

रंगीला देवी केवरतका अनुसार, यो उनीहरूको पुर्ख्यौली पेशा भए पनि प्लास्टिकका डोरीको बजार प्रवेशसँगै व्यवसायमा चुनौती बढेको छ। “४० किलो सन्पाटबाट झण्डै ३ सयदेखि ४ सयवटा दाम्लो–मुखाडी बन्छ। तर एकथान ४० रुपैयाँमै बेच्नुपर्छ,” उनले दुखेसो प्रकट गरिन्।

उनको भनाइमा, करिब १५ वर्षअघिसम्म यही सन्पाटबाट बनेको दाम्लो प्रति थान ५०–६० रुपैयाँमा बिक्री हुन्थ्यो। अहिले भने प्लास्टिकका सस्तो विकल्पले पुरानो पेशालाई असर पारेको छ।

यद्यपि, अहिले पनि गाउँका सयौं घरपरिवार यो सीपकै भरमा जीविकोपार्जन गरिरहेका छन्। महिलाहरू घरमै बसेर बनाउने र पुरुषहरू भने साइकिल चढी रंगेली, विराटनगर, इटहरी, झुम्का, लेटाङ, दमक, बिर्तामोडदेखि जनकपुरसम्म गएर बिक्रीवितरण गर्छन्।

तिहार नजिकिँदै गर्दा रमणपुर गाउँ आजभोलि रंग, दोरी र सन्पाटले रंगिएको ‘उद्योग गाउँ’ जस्तै देखिन थालेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!