
चितवन, आश्विन २१ – जिल्ला कारागार चितवनबाट ‘जेन-जी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फरार रहेका छन्।

कारागार कार्यालयले असोज २० गतेसम्म आत्मसमर्पण गर्न सूचना जारी गरे पनि उनीहरू हालसम्म नफर्किएको प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए।
उनका अनुसार तोकिएको समयभित्र ५७८ जना कैदीबन्दी फर्किएका छन्, जसमा ५३९ जना पुरुष, ३७ जना महिला र दुई नाबालक समावेश छन्। भागेकामध्ये ६० जनाको परिवारसँग सम्पर्क भए पनि उनीहरू अझै नआएको कार्यालयले जनाएको छ।
भदौ २५ गतेको आन्दोलनका क्रममा कारागारबाट ७४२ जना कैदीबन्दी फरार भएका थिए। उनीहरूलाई पटक–पटक सम्पर्कमा आउन सूचना जारी गरिएको थियो।
ढुङ्गानाका अनुसार फरारमध्ये चार जना क्रमशः भैरहवा, धादिङ, सुर्खेत, बागलुङ र नुवाकोट कारागारमा पुगेका छन्। यस्तै, अन्य २१ जना फरार कैदी विभिन्न स्थानबाट फर्किएर चितवन कारागारमा आएका छन्।
कारागार कार्यालयले तोकिएको समयसम्म नआएकालाई कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। साथै, फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसूरदार ठानी कानुनी कारबाही गरिने जनाएको छ।