
काठमाडौं, आश्विन २१ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा लागेको आगो निभाउने क्रममा आन्दोलनकारीकै अवरोधका कारण महानगरको दमकल पुग्न नसकेको बताएका छन्।

आगो नियन्त्रणमा महानगर निष्क्रिय रहेको भन्ने आरोपका बीच उनले मंगलबार सामाजिक सञ्जालमार्फत उक्त घटनाबारे स्पष्टीकरण दिएका हुन्।
बालेनले भनेका छन्, “सिंहदरबार जलेको लगत्तै महानगरको दमकल पठाउने प्रयास गरियो, तर आन्दोलनकारीको अवरोधका कारण जान सकेन। नेपाली सेनाको दमकल पनि त्यहाँ भएपनि हुलदङ्गाका कारण काम गर्न सकेन।”
उनका अनुसार भिड केही शान्त भएपछि २४ गते साँझ ८:१५ बजे काठमाडौं महानगरको दमकल सिंहदरबार पुगेको थियो।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा तोडफोड र आगजनी भएका थिए। सोही क्रममा सिंहदरबार पनि जलेको थियो।
बालेनले स्पष्ट पारेका छन् कि त्यतिबेला देशमा सुरक्षा संयन्त्र पक्षघातग्रस्त थियो र आपतकालीन उद्धार कठिन अवस्थामा पनि महानगरको टोली निरन्तर खटिएको थियो।
उनले भनेका छन्, “त्यो दिन देश अस्तव्यस्त थियो। तर पनि महानगरको टिमले आगो निभाउने, घाइतेको उपचार, बिरामी र कुरुवाका लागि खाना, औषधि, रगत र लाजिस्टिक व्यवस्थापनका काम गर्दै जोखिम मोल्यो।”
बालेनका अनुसार काठमाडौं महानगरसँग न्युरोड, बालाजु र रामहिटीमा गरी पाँचवटा दमकल छन्, जसमा १४ नगर प्रहरी र ३० सशस्त्र प्रहरी तीन सिफ्टमा कार्यरत छन्। आन्दोलनका दिनमा यी दमकलले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, बैंक, प्रहरी कार्यालय र निजी संरचनासहित करिब ५५ स्थानमा आगो निभाउने कार्यमा सहभागी भएका थिए।
उनले मिडियालाई प्रमाणबिना आरोप नलगाउन र जनतालाई अफवाहमा नपर्न आग्रह गर्दै भने, “हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन। हल्ला होइन, सत्य तथ्यका आधारमा देश चल्नुपर्छ।”