सोमबार, चैत्र १०, २०७६ || 627  पटक पढिएको

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमका विरुद्ध प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी संयोजकत्वको अनुगमन समिति तथा मन्त्री रावल संयोजकत्वको कोभिड–१९ प्रतिकार्य उच्चस्तरीय समितिको बैठकले आइतबार कर्णाली प्रदेशका १० जिल्लाका नागरिकको स्वास्थ्य सुरक्षार्थ निगरानी कक्ष (क्वारेन्टाइन) र आइसोलेसनको आवश्यक व्यवस्था मिलाउने तयारी थालेको छ । प्रदेशका ७९ स्थानीय तह र ७२९ वडामा गठित समितिले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई सार्वजनिक ठाउँमा क्वारेन्टाइन निर्माण गरी १४ दिनसम्म त्यसमा राख्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको मन्त्री रावलले जानकारी दिनुभयो । “सुर्खेतमा निर्माण गरिने क्वारेन्टाइनको लजिस्टिक व्यवस्थापनका लागि नेपाली सेनाका पृतनापति सरोजप्रताप राणाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । पूर्वाधार मन्त्रालयका सचिवको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेका छौँ । ‘कोभिड–१९’ विरुद्धको काम युद्धस्तरमा अघि बढेको छ”, उहाँले भन्नुभयो । सो उच्चस्तरीय समितिको बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्यसम्बद्ध विभिन्न उपकरण, औषधि तथा जनशक्ति व्यवस्थापन उपसमिति तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई शान्ति सुरक्षाका सबै व्यवस्थापकीय कार्यमा खटाउने निर्णय गरेको छ । यस्तै वीरेन्द्रनगरको खुलामञ्चमा ४०० क्वारेन्टाइन कक्ष निर्माण कार्य थालिएको छ । आइतबारसम्म १०० भन्दा बढी क्वारेन्टाइन निर्माण गरिएको उत्तरपश्चिम पृतना सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारी र सामाजिक विकासमन्त्री रावलले क्वारेन्टाइन निर्माणस्थलमा पुगेर अनुगमनसमेत गर्नुभयो । मुख्यमन्त्री शाहीले सेनाले देखाएको सक्रियता र शीघ्रताप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले ६०० क्वारेन्टाइन मध्यपश्चिम विश्वविद्यालयमा निर्माण गरी सरकारलाई सहयोग पु¥याउन सो अवसरमा सेनालाई निर्देशन दिनुभयो । उत्तरपश्चिम पृतनाका पृतनापति राणाले क्वारेन्टाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो । विद्युत्को सहज पहँुच, खानेपानीको उपलब्धता, नजिकै बस्ती नभएकाले तत्कालका लागि क्वारेन्टाइन खुलामञ्चमा बनाउन लागिएको हो । कोरोना भाइरसबाट प्रभावित भए नभएको पत्ता लगाउन भारतलगायत अन्य देशबाट फर्कनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!