भारतसंग सिमाना जोडिएका पुर्वी नेपालका विभिन्न नाकाबाट भन्सार राजश्व छलेर अवैध रुपमा विभिन्न सामाग्रीको चोरी तस्करी हुनेक्रम बढेसंगै सशस्त्र प्रहरी बलले सक्रियता बढाएको छ । सिमा सुरक्षाका अतिरिक्त सिमावर्ती क्षेत्रबाट राजश्व छलेर हुने अबैध तस्करी रोक्ने जिम्मेबारी पाएको सशस्त्र प्रहरी बलले झापा, मोरङ, सुनसरी र इलाम क्षेत्रमा अबैध तस्करीको गतिविधि रोक्न सत्रिलयता बढाएको हो ।
विशेष गरी झापाको मेची भन्सार कार्यालयबाट भन्सार राजश्व छलेर तथा विदेशबाट आयात गरिएका सामग्रीको न्युन मुल्याङकन गरी कम भन्सार तिरेर सामान भित्रने क्रमबढेपछि सशस्त्र प्रहरी बलले नियमित गस्ती गर्ने र सुराकी गर्ने क्रमलाइ बढाएको छ ।
यस क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले झापाबाट भन्सार छलेर नेपाल भित्राइएको करिब एक करोड मुल्य बराबरको रेडिमेड कपडा, मोटरपार्टस, अन्य स्टेशनरी सामग्री तथा मालबाहक ट्रक समेत बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बराह बाहीनी मुख्यालयका अनुसार सशस्त्र प्रहरी निरीक्षक टेक बहादुर कटुवालको नेतृत्वमा सशस्त्र प्रहरीको झापा स्थित नबर २ गण् र सुरक्षा बेश बैगुनधुराबाट खटिएको संयूक्त टोलिले गौरादह नगरपालिका स्थित गौरीगञ्ज पाडाजुङ्गी सडक खण्डको ग्वालडुवा बजारमा काठमाण्डौ तर्फ जाँदै गरेको ना ७ ख २१९६ नंम्बरको ट्रकबाट भन्सार छलेर नेपाल भित्राइएको ति सामग्री बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा बरामद गरिएको समान र ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कावाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको पनि मुख्यालयले जनाएको छ ।
यस अघि पनि मेची भन्सार कार्यालयबाट भन्सार छलेर तथा आयात भएका सामानको न्युन मुल्याङकन गरी राजश्व छलेर नेपाल भित्राइएका जुत्ता, बिस्कुट, विभिन्न प्रजातिका विरुवा, तरकारी लगायतका सामान सशस्त्र प्रहरीको सहयोगमा राजश्व अनुसन्धान विभाग र कार्यालयले बरामद गरी करिब एक करोड जरिबाना गरेको थियो ।