हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 15413  पटक पढिएको

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाले डाँसखोलामा नदीजन्य पदार्थ उत्खननमा ठेकेदार कम्पनीलाई घाटा लागेको भन्दै राज्यको ढिकुटिबाट आर्थिक ऐन बिपरीत ६४ लाख ३९ हजार रूपैयाँ दिने अन्तिम तयारी गरेको पाइएको छ ।

सम्झौताको शर्तअनुसार उत्खनन गर्न नपाएको भन्दै पथरीशनिश्चरे नगरपालिकाको बहुमत कार्यपालिकाको बोड बैठकले नगर प्रमुख मोहन प्रसाद तुम्वापो निटक रहेको कानेपोखरीको बी एण्ड बी कन्सट्रक्सनलाई सो रकम दिने निर्णाय गरेको हो ।

नगरपालिकाको आर्थिक प्रशासन शाखाले दिएको राय सुझाबलाई लत्याउँदै नगर प्रमुख तुम्बापोको जोडबलमा ठेकदार कम्पनीलाई घाटा लागेको भन्दै गैरकानुनी तरिकाले ६४ लाख ३९ हजार ९ सय ५२ रूपैयाँ दिने अन्तिम तयारीमा जुटेको स्रोतले जानकारी दिएको छ ।

नगर प्रमुखनिकट कन्सट्रक्सनलाई रकम फिर्ता गर्ने निर्णय असार ८ गतेको कार्यपालिका बैठकबाट गरिएको थियो । त्यसलाई असार १० गतेको नगरसभाले पनि पास गरिसकेको पाइएको छ ।

कार्यपालिकाको बैठक बस्नुअघि प्रमुख प्रसासकीय अधिकृतले रकम फिर्ता दिन मिल्ने कि नमिल्ने भनेर लेखाको प्रशान फाँटसँगसमेत राय मागिएको थियो । सम्झौता गर्दाका बखत कन्सट्रक्सनले सम्झौता गरेको रकम कुनैपनि बहानामा फिर्ता माग्ने छैन भनि कवुलीयतनामा गरेको राय प्रशासन फाँटले पेश गरेको थियो । कवुलीयतनामा पत्र अनुसार रकम फिर्ता गर्न नमिल्ने राय पेश हुँदाहुँदै नगरपालिकाले भने नगर प्रमुखकको दबावमा रकम फिर्ताको तयारी गरिरहेको हो ।

आर्थिक वर्ष २०७८÷०७९ का लागि डाँस खोला उत्खनन गर्न कानेपोखरीको बी एण्ड बी कन्सट्रक्सनसँग भ्याटबाहेक एक करोड १६ लाख रूपैयाँ बराबरको ठेक्का सम्झौता २०७८ फागुनमा नगरपालिकाले गरेको थियो । सम्झौता भएपछि ठेकेदार कम्पनीले ५१ लाख ८० हजार ४ सय रुपैयाँ नगरपालिकालाई नगद रकम बुझाएको थियो । ६४ लाख ३९ हजार ९ सय ५२ रुपैयाँ सानीमा बैंकको चेक दिएर बैंक ग्यारेन्टि राखेर बी एण्ड बीले कन्सट्रक्सनले चैतबाट काम सुरू गरेको थियो । ठेकेदार कम्पनीले काम सुरू गरेपनि सम्झौता अवधि भित्रमा ठेक्का बापवतको रकम नबुझाएपछि बैंक ग्यारेन्टि राखेको ६४ लाख ३९ हजार ९ सय ५२ रूपैयाँ नगरपालिकाले राजस्व बापतको आम्दानी देखाएर आफ्नो खातामा ल्याएको थियो ।

ठेकेदार कम्पनीले भने नदीजन्य पदार्थ उत्खननमा स्थानीयले अवरोध गरेको कारण काम गर्न नपाएको भन्दै बैंक ग्यारेन्टी राखेको रकम ६४ लाख ३९ हजार ९ सय ५२ रुपैयाँ फिर्ताको माग राखेर नगरपालिकामा निवेदन दिएको थियो । त्यसैलाई आधार बनाउँदै नगरपालिकाको बोर्ड बैठकले नियमविपरीत ठेकेदार कम्पनीलाई सो रकम फिर्ताको तयारीमा नगर प्रमुख लागि परेका हुन् । तुम्वापो एमालेबाट निर्वाचित नगर प्रमुख हुन् । डाँसखोलाको ठेक्का पाउने बी एण्ड बी कन्सट्रक्सनका प्रमुख प्रोफाइटर श्रेष्ठ पनि एमाले मोरङका जिल्ला सदस्य र युवा संघ नेपालको केन्द्रीय सदस्य हुन् । पार्टीबाटै दबाव परेपछि ठेकेदारलाई घाटा भएको भन्दै एमालेको बहुमत रहेको कार्यपालिका बैठकबाटै रकम फिर्ता गर्ने निर्णय गरेको हो । कार्यपालिकाबाट भएको निर्णायको अहिले चौतर्फी रूपमा आलोचना सुरू भएको छ ।

ठेक्का सम्झौता भएर नगरपालिकाको आम्दानीमा आएको राजस्व रकम आर्थिक ऐन अनुसार फिर्ता गर्न नमिल्ने अर्थविद्ध डा. अर्जुन बरालले बताए । ‘राजस्वमा दाखिला भइसकेको राजस्व कसैलाई घाटा लाग्यो भनेर रकम फिर्ता गर्नु गलत अभ्यास हो,’ उनले भने, ‘यो विधी र पद्धती अनुसार हुदैन । व्यहारीक पक्ष एउटा ठाउँमा होला तर यो कानुनसंगत मिल्दैन ।’

ठेक्का सम्झौतामा पथरीशनिश्चरे – ८, ९ र १० वडा भित्रका चार ठाउँबाट डाँस खोलाको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाको प्राविधिक शाखाले दिएको जानकारी अनुसार पथरीशनिश्चरे ९ त्रिवेडी घाटबाट २ लाख ३८ हजार ३ सय ४२.५ घनफिट, ८ नं. वडाको बिसबिघेबाट ८ लाख ५४ हजार २ सय १९.५ घनफिट, वडा नं. १० को पशुपतीनगरबाट ४ लाख ७६ हजार ६ सय ८५ घनफिट र बक्रहा डाँसघाटबाट ४ लाख २६ हजार ८ सय ९६.८८ घनफिट नदीजन्य पदार्थ उत्खनन गर्ने सम्झौता पत्रमा उल्लेखछ । चार ठाउँबाट जम्मा १९ लाख ९६ हजार १ सय ४४.८८ घनफिट उत्खनन गर्ने सम्झौता रहेको छ ।

सम्झौता अनुसार उत्खनन गर्न नपाएकाले सहजीकरण गरिदिन भन्दै २०७९ वैशाख र जेठको पहिलो सातामा ठेकेदार कम्पनीका तर्फबाट नगरपालिकामा निवेदन परेको थियो । उत्खननका लागि नगरले समेत सहजीकरण गर्न नसकेको निवेदनमा उल्लेख छ । स्थानीयले अवरोध गरेको कारणले पथरीशनिश्चरे ८ को त्रीवेडी घाटबाट ३ लाख ५७ हजार ५ सय ६१.३ घनफिट, १० को पशुपतिनगरबाट ७५ हजार ४ सय ८५.१७ घनफिट र ८ को बिसबिघेबाट ४ लाख ५३ हजार ८ सय ३० घनफिट गरी जम्मा ८ लाख ८६ हजार ८ सय ७६.४७ मात्र घनफिट नदीजन्य पदार्थ उत्खनन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्राविधिकले ८ लाख ८६ हजार ८ सय ७६.४७ मात्र घनफिट नदीजन्य पदार्थ उत्खनन गरेको रिपोट तयार पारेपनि बिसबिघे क्षेत्रमा व्यापक उत्खनन भएको स्थानियको भनाई छ । यस क्षेत्रमा ठेकेदार कम्पनीले स्काइभेटर प्रयोग गरेर ३÷४ फुट गहिरो खाडल बनाएर उत्खनन गरेको यहाँको स्थानियतको आरोप छ ।

यता पथरीशनिश्चरेका नगर प्रमुख मोहन तुम्वापोले नगरपालिकाबाट प्राविधिक जाँच गर्दा रकम फिर्ता गर्नुपर्ने देखिएपछि कार्यपालिका र नगरसभाले नै रकम फिर्ता दिने निर्णय गरेको बताए । कानुन अनुसार मिल्ने कि नमिल्ने भन्दा पनि व्यवहारिक समस्या हेरेर कम्पनीलाई रकम फिर्ता दिने निर्णय गरिएको उनले बताए । ‘सबै ऐन कानुन हेरेर हुदैन । खोला उत्खनन गर्न नपाएपछि कम्पनीलाई मर्का परेको छ,’ उनले भने, ‘अझ भ्याट रकममा त झन् कम्पनीलाई घाटा भयो । नगरपालिका र कम्पनीको बीचमा भएको सम्झौताको शर्त अनुसार नदीजन्य पदार्थ निकाल्ने वातावरण नबनेको पाइयो ।’

‘धरौटी फिर्ताका लागि कम्पनीले पटकपटक माग गरेको रहेछ । निर्वाचित भएर हामी आइसकेपछि यथार्थ कुरा बुझेर निर्णय लिएका हौँ,’ उनले भने, ‘प्राविधिक मूल्यांकन अनुसार नदीजन्य पदार्थ उठाए अनुसारको रकम कट्टा गरेर फिर्ता गरिने छ । प्राविधिक रिपोर्टका आधारमा निर्णय भएको हो ।’

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले नगरसभाबाट भएको निर्णयले कानुनी हैसियत राख्ने र स्थानीय कानुनको मान्यता पाउने बताए । त्यही आधारमा उत्खनन गरेको परिणाम बराबरको मूल्य घटाएर रकम फिर्ता दिने तयारी भइरहेको उनको भनाइ छ । ‘नगरसभाबाटै निर्णय भइसकेपछि त्यसलाई मान्दैनौँ भन्ने आधार रहँदैन । कार्यान्वयन गर्नुपर्ने बाध्यता छ,’ खरेलले भने ।

बी एण्ड बी कन्ट्रक्सन प्रोप्राइटर भूपाल श्रेष्ठले गाउँलेको विवादले सम्झौता अनुसार काम गर्न नपाएपछि रकम फिर्ता मागेको बताए । १९ लाख ९६ हजार बढी घनफिट नदीजन्य पद्धार्थ उठाउनुपर्नेमा ८ लाख ८६ हजार ८ सय घनफिट अर्थात ५१ लाख ६६ हजार ५ सय ७५ रुपैयाँ ३४ पैसाँको मात्र नदीजन्य पद्धार्थ ल्याएकाले बाँकी पैसाँ पाउनुपर्ने उनले बताए । ‘खोला उत्खनन गर्न भ्याट र आयकरसहित सम्पूर्ण रकम अगाडी बुझाएको छु,’ उनले भने, ‘गाउँलेको विवादले खोला खन्न पाइएन । स्थानीय निर्वाचनअघि नै ठेक्का रद्ध गरिपाउँ भनेर निवेदन दिएका थियौँ। तर नगरपालिकाले काम अघि बढाएन । नगरपालिकाले सहजिकरण नगर्दा काम गर्न नपाएको पैसाँ मैले मागेको हो ।’
भ्याट र आयकरवापतको रकम भने राजस्वमा गइसकेको र काम गर्न नपाएको रकम फिर्ता मागिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!