मिलन के राउत
उर्लाबारी। नेपाली राजनीतिमा कुनै ‘अग्राख’ पलाएन भने आगामी मंसिरमा आम चुनाव हुने निश्चित छ । आसन्न चुनावकै तयारी स्वरुप अधिवक्ता फडिन्द्र थापाले उम्मेद्वार बन्ने सुुर कसेका छन् । नेपाली कांग्रेसको ‘परम्परागत गढ’ मानिने मोरङको क्षेत्र नम्बर २ को प्रदेश ‘क’बाट उम्मेद्वार हुने थापाको अभिलाषा छ ।
२०७४ को आम चुनावमा देशैभर वामलहर आइरहँदा मोरङ २ मा कांग्रेसजनले चारतारे झण्डा फहर्याउन सफल बने । संघीय निर्वाचन क्षेत्रमा मिनेन्द्र रिजाल र प्रदेश ‘क’मा शिवनारायण सिंहले शानदार ढंगमा चुनाव जिते । त्यसअघिको स्थानीय तह चुनावमा सो निर्वाचन क्षेत्रका रतुवामाई र सुनवर्षी नगरपालिकामा पनि नेपाली कांग्रेस विजयी बन्यो ।
हालैको स्थानीय चुनावमा भने सुनवर्षी गुमाएपनि रतुवामाई नगरपालिकामा कांग्रेसले आफ्नो दबदबा कायमै राखेको छ । विगतमा गिरिजाप्रसाद कोइराला, आमोद उपाध्यायजस्ता हस्तिले चुनाव जित्ने गरेको हालको मोरङ २ मा विरासतलाई कायमै राख्नुपर्ने कांग्रेसजनमा चुनौती छ । कांग्रेसको विरासत ढल्न नदिन आफु अग्रसर भएको थापा बताछन् । अर्थात पार्टीले योगदानको कदर स्वरुप आफुलाई उम्मेद्वार बनाउनुपर्नेमा थापाको जोड छ । नेपाली कांग्रेस जमेको पोखरीजस्तो भएको छ, जहाँ नवीन विचार र दृष्टिकोण नेतृत्वबाट निःसृत हुने सम्भावना नै समाप्त भएको अधिवक्ता थापा बताउछन् । ‘देशको राजनीतिक अवस्थाले कांग्रेस फेरि एकपटक लोकतन्त्र रक्षार्थ गतिशील र ऊर्जावान् हुनुपर्नेछ’ उनी भन्छन् –‘यस्तो अवस्था सिर्जना गर्न आसन्न चुनाव अवसर भएर आएको छ ।’
मोरङको रतुवामाई १० निवासी थापा विद्यार्थी आन्दोलन हुँदै कांग्रेस राजनीतिमा समर्पित भएका हुन् । कांग्रेस कार्यकर्ताकै भुमिकामा रहँदा विभिन्न क्रान्तिकारी र नवीन काम गरेर चर्चामा आइरहने व्यक्ति हुन्, फडिन्द्र थापा । उबेला निर्वाचन क्षेत्रमा गिरिजाबाबुको ‘जानपहिचान’का कार्यकर्तामा दरिन्थे उनी । कांग्रेसका हरेक कार्यक्रम र आन्दोलनमा अग्रपंक्तिमा रहेर खट्ने उनी अहिले आफूमाथि अन्याय नहुने बताइरहेका छन् । नेपाली कांग्रेसले दक्षिण–पुर्वी मोरङको नेतृत्वका लागि आफूलाई अगाडि सार्नेमा विश्वस्त रहेका छन् । थापा पेशाले कानुन व्यवसायी रहेपनि राजनीतिक क्षेत्रमा उर्जाशिल र कर्मठ छवि बनाएका छन् ।
डा।सुनिल शर्मा, डा। भुपेन्द्र बस्नेत, दुर्गा प्रसाईलगायत उनका सहपाठी हुन् । प्रभावशाली व्यक्तिहरुसंग संगत भएका थापाले त्यो सम्बन्धलाई जनहितमा जोड्न सफल भएका छन् । विमारी र असहायको सहयोगमा कुनै कसर बाँकी राखेका छैनन् । राम्रो काम गरेर पहिचान बनाएको र रतुवामाईलगायत दक्षिणी मोरङमा थापाको दरिलो प्रभाव रहेको उनलाई जान्नेहरु बताउछन् । स्थानीय ठकठके स्कुल इटहराबाट प्रारम्भिक शिक्षा सुरु गरेका थापाले कक्षा ६ देखि ८ सम्म सरस्वती मावि इटहरा, ९ देखि एसएलसीसम्म सनपकुवा मावि उर्लाबारी मंगलबारेबाट र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका हुन् । कांग्रेस नेताहरु शेखर कोइराला, मीन विश्वकर्मा, गगन थापा, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत संग आसन्न चुनावको जोडघटाउमा विमर्श गरिरहेको बताउने थापा मोरङ १ ‘क’ प्रदेशसभामा आफ्नो उम्मेद्वारीको सशक्त दाबी रहेको सुनाउछन् ।