काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।
आज बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको हो ।
भेटमा नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको खाँणको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन् ।
सोही क्रममा उनले गृहमन्त्रीलाई दाहालसँग छलफलका लागि पठाएका हुन् ।
केही दिनअघि नै निर्वाचन मिति घोषणा गर्न लागेको भएपनि दाहालको परामर्शमा देउवाले निर्वाचन मिति घोषणामा ढिलाइ गरेका थिए ।
बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका थिए ।
सरकारले यही साता चुनावको मिति घोषणा गर्ने तयारी छ ।
निर्वाचन आयोगले यसअघि नै आगामी मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न परामर्श दिइसकेको छ ।