काठमाडौं। आज विश्व बाघ दिवस ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने संकल्पका साथ मनाइँदैछ ।
दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय रहेको सन्देशमा उल्लेख छ ।
बाघको संख्या बढेसँगै वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि बाघ विचरण गर्ने वन क्षेत्रको विस्तारको आवश्यकता राष्ट्रपति भण्डारीले औंल्याएकी छिन् ।
नेपालले करिब एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको थियो ।
जसअनुसार सन् २०१८ मा नेपालमा बाघको संख्या २ सय ३५ पुगेको थियो ।
हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेको छ । बाघको संख्या बढिरहँदा बाघ पाइने संरक्षित क्षेत्र वरिपरि बाघको आक्रमणबाट हरेक वर्ष स्थानीय बासिन्दा पीडित हुने क्रम भने बढेको छ ।