विराटनगर। मोरङमा अपराधीहरू उन्मुक्त बन्दै गएका छन् । प्रहरीले मोरङमा शान्ति सुरक्षाको अवस्था ‘कसिलो’ दावी गरेपनि अपराधको घटना उत्तिकै छ । दिनहुँ जसो घटीरहने चोरीका घटना बाहेक मोरङमा जघन्य प्रकृतिका अपहरणदेखि हत्यासम्मका घट्नामा लगाम लाग्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति विवरण अनुसार मोरङमा २ हजारभन्दा बढी आपराधिक घटना घटेका छन् । ०७८/०७९ मा मोरङमा ३६५ दिनमा २ हजार २५९ आपराधिक घटना घटे ।
मोरङमा १ दिनमा औसत ६ वटा आपराधिक घटना घटेको देखिएको छ । अपराधमा लिप्त १ हजार ९१० जना पक्राउ परे । अपहरणका ६ घटना घटेका थिए भने २४ वटा हत्याका घटना घटेको थियो । ग्राफ हेर्दा मोरङवासी ढुक्कसँग बस्न सक्ने स्थिति देखिदैन ।
प्रहरीसँग डर कम भएर अपराध बढेको हो की भन्ने न्यू सृष्टि दैनिकको जिज्ञासामा मोरङ एसपी शान्तिराज कोइरालाले प्रहरीप्रति अपराधीको डर कायमै रहेको बताए । उनले प्रहरीले पक्राउ गरे एक दुई महिनामा छुटी हालिन्छ भन्ने अपराधीको गलत मानसिकताका कारणपनि अपराधका घटना घट्ने बताए ।
एसपी कोइरालाले फरारहरूलाई पक्राउ, विभिन्न आपराधिक घटनामा संलग्न अपराधीको धरपकड जारी रहेको बताए । एसपी कोइरालाले केहि अपराध बढेको भएपनि कतिपय अपराध घटेको दावी गरे । उनले दण्डहिनता मौलाउँदै गएपनि शान्ति सुरक्षा कायम गर्न प्रहरीले कुनै कसर बाँकी नछाडेको बताए ।
मोरङ प्रजिअ काशिराज दाहालले मोरङमा बढ्दै गएको जनसंख्या र जनघनत्व, खुल्ला सीमा नाका, बेरोजगारी, लागु औषध दुव्र्यसन, समाजमा बढीरहेको आपराधिक प्रवृत्तिका कारण पनि शान्ति सुरक्षामा चुनौती थपिएको बताए ।
सीमा क्षेत्रमा सुरक्षाको व्यापक पहुँच, प्रहरी युनिटको सबलीकरण र विस्तार, सामूदायिक प्रहरी परिचालन प्रहरी गस्तीको व्यापक परिचालन एवं सीसीटिभी क्यामेराको अधिक प्रयोगले अपराधका घटना कम हुने विश्वास प्रजिअ दाहालको छ । पछिल्लो समय अपराधीसँगको प्रहरी सेटिङ्ग, आर्थिक चलखेल, फितलो अनुसन्धान र कारवाहीका कारण प्रहरीप्रतिको विश्वासमा कमी आएको चर्चा चुलिएको छ ।
अपराध घटेपछिको अनुसन्धानभन्दा पनि मोरङमा अपराध हुनै नदिने गरी सुरक्षाका उपाय आवलम्बन गरी नजिकिँदै गरेको चाडवाडलाई सुरक्षित बनाउनेतर्फ प्रहरी प्रशासनले इमान्दारिताका साथ भूमिका खेल्नु पर्ने सर्वसाधारणको बुझाइ छ ।