बिराटनगर। प्रदेश नं. एक को नाम ‘किराँत प्रदेश’ हुनुपर्ने भन्दै दवाव दिन गएको किराँत राई यायोक्खा समूहलाई मुख्यमन्त्री राजेन्द्र राईले उचालेका छन् । मुख्यमन्त्री गैरजिम्मेवार र सामाजिक सद्भावविरुद्ध देखिएको भन्दै अन्य जातिय समूह र सत्तारुढ र अन्य दलका नेताहरूले कडा रोष प्रकट गरेका छन् ।
मधेसवादी नेता मो. कादिरले मुख्यमन्त्री आफै नै जातिय समूहको पक्षपोषक हुनु दुःखदायी भएको बताए । उनले भने, ‘मुख्यमन्त्रीले सबैलाई मिलाउने हो, उनका लागि कुनै एक जाति विशेष प्रिय हुनु हुँदैन, मुख्यमन्त्रीका लागि प्रदेशमा बस्ने सबै प्रिय हुनुपर्छ ।’
शिक्षासेवी बासुदेव न्यौपानेले मुख्यमन्त्रीको अभिव्यक्तिले सद्भावपूर्ण प्रदेशलाई झनै जातिय ढंगले भड्काउने खेल भएको आरोप लगाएका छन् ।
प्रदेशको नाम किराँत राख्न आन्दोलनमा जानुपर्ने सुझावसहितको भड्किलो अभिव्यक्ति मुख्यमन्त्रीले दिएका छन् र, यसको चौतर्फी आलोचना सुरु भएको छ । उनको राजिनामा पनि मागिएको छ र, काउण्टरमा अन्य जातिय समूह सडकमा आउने देखिएको छ ।
‘किराँत समूहले दवाव दियो भन्दैमा मान्ने ? भोलि अन्य जातिय समूह आए भने के गर्ने ?’ बुद्धिजीवी उपेन्द्र यादवले भने, ‘यस्तो बेलामा त सर्वसम्मत र सर्वस्वीकार्य भूगोलको नाममा सहमति गरेर अघि बढ्नु पर्नेमा उल्टै उचाल्नु पदिय मर्यादा विपरित कुरा हो ।’
‘प्रदेशको नेतृत्वमा बसेको व्यक्तिले एकतामा सबैलाई बाँध्नुपर्ने हो तर, मुख्यमन्त्रीले भड्काउने काम गरे’ संघीयताको विरोध गर्दै आएका नेपाल उद्योग परिसंघ प्रदेश नंं. १ का अध्यक्ष भीम घिमिरेले भने ।
एकातर्फ नामाकरण गर्ने भनेर सर्वपक्षीय बैठक बोलाउने, अर्कोतर्फ आन्दोलनकारीलाई मुख्यमन्त्री राईले उक्स्याएका छन् । ‘हामी मुख्यमन्त्रीको व्यवहारबाट आजित भइसकेका छौं’ कांग्रेसका एक सांसदले भने, ‘अगाडि हेर्दा व्यवहार एउटा देखिन्छ अनि पछिल्तिर अर्कै व्यवहार छ मुख्यमन्त्रीको ।’