कता लम्कँदैछन् यो देशका नैतिक समाज र संस्कार ? कता दोहोर्याइँदैछ समृद्धिको नारा गाउँदै ? व्यभिचार, भ्रष्टाचारको वैभवतिर ? अथवा नियम कानुनको धज्जीउडाएर हामीले उन्नत देश बनायौँ भनेर छाती फुलाइँदैछ ।
पेशाले म राजनीतिज्ञ होइन, एक साधारण नागरिक हुँ । राजनीतिक खेल बुझ्न पनि सक्तिनँ तर सचेत नागरिक हुँ, आँखा चिम्लेर सहिदिने मेरो स्वभावभित्र पर्दैन । बारम्बार कानमा ठोकिन पुग्छ ‘समृद्धि’ शब्द । कोही भोकानाङ्गा हुने छैनन्, कुनै महिला हिंसापीडित हुने छैन । के यही हो समृद्धिको परिभाषा ? समृद्धि शब्द मनमोहक छ, लोभिएका छन् जनता । फोहोर मैलाको डङ्गुरमा आफ्नो अस्तित्व, आफ्नो स्वाभिमान खोज्दैछन् । भेटाएर पनि हातबाट चिप्लिएर फुत्केको चालै पाएनन् क्यार । भूपू उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, पार्टीको बलियो दबाबमा तपाईंको स्वाभिमान चिप्लिन पुग्यो । हदभन्दा बढी दुःख लाग्यो । पत्रकारका सामु तपाईंको जोशिला अडान र मन्तव्य सुनेँ । भन्नुभो, ‘म हारेकी छैन ।’ अब त पार्टीको सिन्दुर लगाएर भित्रिनुभयो, यो तपाईंको जित होला सायद, मैले बुझिनँ । चार महिनासम्म तपाईंको सशक्त अडान देखेँ र सुने पनि ।
ठीकै छ, राजनीतिको खेल बुझ्ने दिमाग ममा छैन । माफ गर्नुहोला । शक्तिपुञ्जका शासकहरू, किन तर्सिएका यहाँ स्वाभिमानमा अडिएका केही महिलादेखि ? भूपू उपसभामुखले केही समयसम्म मात्र त तपाईंहरूलाई झस्काइन् । भूपू प्रधान न्यायाधीश सुशीला कार्कीजस्ती अडिग महिला अहिले पनि जिउँदै ललकारिरहेकी छन् । पत्रिकाहरू त पढिराख्नु भएकै होला । के यस पङ्क्तिकार महिलालाई ढाल्नसक्नु हुन्छ ? कलम त रोकिँदैन । सञ्चार माध्यमलाई संविधानको नाममा खुम्च्याउने आँट नगर्नुस्, झन् विस्फोट हुनेछ ।