विराटनगर। पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण सम्पन्न गर्ने प्रवृत्ति रहँदै आएको छ । ठेकेदार कम्पनीको यसै प्रवृत्तिलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले निर्माणको अनुगमनलाई तीव्रता दिएको छ । महानगरले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारको भुक्तानी रोक्ने तयारी थालेको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा सोमबार विराटनगरमा निर्माणाधीन विभिन्न विकास निर्माणका योजनाको अनुगमन गरिएको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले लापरबाही गर्दा विभिन्न निर्माणका योजनाले गति लिन सकेको छैन । अनुगमनका प्रमुख कोइरालाका साथै उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, योजना महाशाखाका प्रमुख गोपाल पोखरेल, इन्जिनियर अर्जुन बस्नेतसहितको टोलीले अनुगमन गरेको हो । टोलीले विराटनगर महानगर परिसरभित्र निर्माणाधीन भवन, वीरेन्द्र सभागृह र हिमालय रोडमा निर्माण भइरहेको संरचनाको अनुगमन गरेको थियो । ठेक्का लिने तर समयमै काम सम्पन्न नगर्ने प्रवृत्ति बढ्दै गएका कारण अनुगमन गरिएको प्रमुख कोइरालाले बताए । उनले अब महानगरले दिएको समयभित्र निर्माण सम्पन्न नगर्ने ठेकेदारको भुक्तानीसमेत रोक्ने चेतावनी दिए । “ठेक्का लिने तर तोकिएको समयमा काम नसक्ने प्रवृत्ति छ हाम्रोमा,” कोइरालाले भने, “विगतमा के भयो के भएन अब त्यतातिर नजाऔं, तर अब तोकिएको समयमा निर्माण सम्पन्न हुनुपर्छ । यदि भएन भने महानगरले कडाइका साथ भुक्तानी रोक्छ ।”

उनले महानगरको तर्फबाट कमीकमजोरी भए ठेकेदारलाई भन्न आग्रह गरे । उनले भने, “महानगरका तर्फबाट केही कमीकमजोरी छन् भन्ने भन्नुहोस् नत्र भने अब ठेक्का लिने अनि काम चाहिं नगर्ने परम्परा तोडिने छ ।” अनुगमनका क्रममा मेयर कोइरालाले सबै वीरेन्द्र सभागृहको संरचनालाई अपांगमैत्री बनाउन निर्देशनसमेत दिए । उनले अपांग मात्रै नभएर दृष्टिविहीनहरूका लागि पनि छुट्टै व्यवस्था गर्न आग्रह गरे ।
उपमेयर कार्कीले वीरेन्द्र सभा गृह ६ महिनाभित्र निर्माण सम्पन्न हुने बताइन् । उनले हिमालय रोडको संरचना भने ८० प्रतिशत सम्पन्न भएको जानकारी दिइन् । “आजको अनुगमनबाट धेरै कुराको जानकारी भएको छ,” उपमेयर कार्कीले भनिन्, “आज मात्रै होइन निर्माण भइरहेका संरचनाको निरन्तर रुपमा अनुगमन गर्छौं । हाम्रो अनुगमनलाई बेवास्ता गरेर निर्माणलाई तीव्रता दिएन भने कानुनअनुसार कारबाही पनि गर्छौं ।”

महानगरपालिकाको निर्माणाधीन भवनबाट सुरु टोलीले वीरेन्द्र सभागृह, हिमालय रोडको संरचनाको विस्तृतमा अनुगमन गरेको थियो । सो क्रममा प्राविधिकहरूले निर्माणको अवस्थाका बारेमा टोलीलाई जानकारी गराएका थिए । २१ करोड लागतमा पुननिर्माण भइरहेको वीरेन्द्र सभागृह पूर्ण रुपमा अपांगमैत्री हुनेछ । भीआइपी कक्ष, आराम कक्ष, मञ्च, पोशाक परिवर्तन गर्ने कोठा, सुविधा सम्पन्न शौचालय, पार्किङलगायतको सुविधा हुनेछ । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा १ वर्ष पूरा भइसकेको र अब ६ महिनाभित्र सबै काम सम्पन्न गर्ने महानगरका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । अनुगमनका क्रममा ठेकेदारलाई कति समयभित्र निर्माण सम्पन्न गर्ने भनेर प्रतिबद्धतासमेत जनाउन लगाइएको थियो । सो क्रममा ठेकेदार कम्पन्नीका प्रतिनिधिहरूले महानगरको भवन दसैं अगाडि, वीरेन्द्र सभागृह फागुनभित्र र हिमालय रोडको संरचना केही महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!