काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण स्थानीय चुनावमा लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको बताएका हुन् ।
गठबन्धनमा कांग्रेस इमान्दार नभएकाले अपेक्षा गरे अनुसार परिणाम नआएको अध्यक्ष दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले जारी केन्द्रीय बैठकमा गठबन्धनलाई कसरी लैजाने देपख प्रदेश र संघको निर्वाचनको तयारीका बिषयमा छलफल हुने जानकारी दिए ।
अध्यक्ष दाहालले माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै दाहालले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको समेत गुनासो गरेका छन् ।
उनले रुकुम, रोल्पा, कालीकोट जस्ता जिल्लाहरुमा अरु दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि उल्लेख गरे । अध्यक्ष दाहालले पार्टीभित्रका अन्तर्घातीहरुलाई पनि कारबाही गरिने पनि बताए ।
पार्टीले १ सय ५० देखि १ सय ७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात र गठबन्धनका कारण सफल हुन नसकेको दाहालको भनाइ थियो ।
आगामी निर्वाचनमा माओवादी कम्युनिस्टहरूको पहिलो नम्बरमा आउने उनले जिकिर गरेका छन् ।
बैठकमा अध्यक्ष दाहालले केन्द्रीय समितिका नयाँ सदस्यहरुको शपथ समेत गराएका छन् ।
केन्द्रीय समितिको बैठक आजबाट काठमाडौंको प्रज्ञा भवनमा शुरु भएको हो । तीन दिनसम्म चल्ने बैठकमा बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुका तर्फबाट संक्षिप्त रिपोर्टिङ हुने माओवादी नेताहरुले बताएका छन् ।