शनिबार, फाल्गुण १७, २०७६ || 1326  पटक पढिएको

परापूर्वकालमा गाईले पत्ता लगाएको भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ ।

दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ । विशाल चट्टानको फेदमा अवस्थित गुप्तेश्वर महादेव गुफाभित्र सात जना दर्शनार्थी मात्र अटाउन सकिन्छ । कालो चट्टानले बनेका गुफामा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको धार्मिक मान्यताअनुसार नामकरण गरिएका छन् ।

गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गाई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ ।

अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गाई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गाई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गाई गोठ । सुवोधले धेरै दिनपछि गाईको गोठनजिकैको खेतमा आफ्नो गाईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गाईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गाईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन।

सुवोध धान खाइरहेको गाईनजिक पुग्दा गाई हराउँथ्योे । गाईधनी दुई÷चार दिन त्यसरी धान खाइरहेको गाईको पछि लागेका थिए । गाईनजिक पुग्नेक्रममा हराएपछि सुवोधले कता–कता गाई कराएको आवाज सुनेका थिए । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गाई गुफाभित्र देखिएको थियो । मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गाई निकाल्न त्यति सजिलो थिएन । एक्लैले गाई निकाल्न नसक्ने भएपछि सुवोधले गाउँलेसँग हारगुहार मागे ।

सहयोगी लिएर गएका सुवोधसँगै गुफा पुगेकामध्ये केहीभित्र पसे र केही बाहिरै बसे । भित्रकाले गाई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने तर गाई निकाल्न सकिएन । गाई निकाल्न सहयोग गर्न पुग्नेले भने, “गाई निकाल्न सकिँदैन, माया मारौँ ।” त्यसो भन्दै सहयोगी घर फर्के । गाईधनी सुवोध त्यहीँ बसे । आफ्नो गाईको माया लाग्नु स्वाभाविकै थियो सुवोधलाई । सुवोधले मनमनै सोचे, “मलाई भगवान्ले छल त गरेन १” सुवोधले मनमनै आराधना गरे । पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गाई सजिलै बाहिरियो । त्यत्रा सहयोगीसहित निकाल्ने प्रयास गर्दा निकाल्न नसकिएको गाई गाईधनी सुवोध एक्लैले निकाले । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भन्न थालिएको हो ।

गुप्तेश्वर महादेव गुफा त्यति पुरानो मानिए पनि यसको प्रचारप्रसार र प्रवद्र्धन भने हुन सकेको छैन । गुप्तेश्वर महादेव गुफामा पाँच वर्षअघिदेखि मात्र आन्तरिक तथा वाह्य पर्यटक पुग्ने गरेका अर्खोलेका स्थानीवासी बताउँछन् । पछिल्लो समय हलेसी आइपुगेका बौद्ध धर्मावलम्बी गुप्तेश्वर नपुगे यात्रा अधुरो भएको सम्झने गरेको पाइएको छ । अहिले भारत, भुटान, श्रीलङ्का, ताइवान, कोरिया, सिङ्गापुर, हङ्गेरी र हल्यान्डलगाइतका बौद्ध धर्मावलम्बी गुप्तेश्वर महादेव टेकिसकेको पूजारी हीराधन राईले बताए ।

पछिल्लो समय गुप्तेश्वर महादेव गुफा पर्यटकीस्थल बन्दै गएको वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताए ।

गुप्तेश्वर महादेव गुफा आसपासमै पार्वतीथान र सिकारीथानसमेत रहेका छन् । छेउमै बगेको कलकल पानीले गुप्तेश्वर पुगेकालाई आनन्दित तुल्याउँछ । गाउँको पुछारमा रहेकाले शान्त वातावरण छ । खोलाछेउ मात्रै होइन, घनाजङ्गलबीचमा भएकाले गुप्तेश्वर पुगेकाले शीतल अनुभूति गर्छन् । त्यहाँसम्म पुगेका आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि केही पसलसमेत खोलिएका छन् ।

पर्यटकलाई जानकारी गराउन बाटामा कोही न कोही पथप्रदर्शक भेटिन्छन् । एकान्त ठाउँमा रहेको उक्त गुप्तेश्वर महादेव गुफामा बर्खाभन्दा हिउँदमा पर्यटक धेरै आउने गरेको स्थानीयवासीले बताएका छन् । अर्खौले बजारबाट करिब पाँच किलोमीटर दूरीमा रहेको गुप्तेश्वर महादेव गुफा पुग्न ओरालो र फर्कंदा उकालो बाटो पैदल हिड्नुपर्ने हुन्छ । गुप्तेश्वर महादेव गुफाको केही माथिसम्म यातायातका सावरी साधन पुग्ने गरेको छ । सडकमा सवारी साधन पार्किङ गरेर करिव १० मिनेट पैदल हिँड्नुपर्छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!