काठमाडौँ । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुबा भीमबहादुर भन्छन्, “अब हामीले पाउने सान्त्वना के होला ?” गोरखा पालुङ्टार नगरपालिका–३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति थिए ।

भीमबहादुर छोरो सम्झिँदै भन्छन्, “म केही गर्छु, व्यावसायिक हिसाबकिताब मिलाएर परिवारलाई सुख दिन्छु भन्ने उनको सोच थियो ।” व्यवहारमा अलि कडा देखिए पनि कुराकानी सुरु गरेपछि सबैलाई छोइहाल्ने अनिश देशको अवस्थाबारे छरछिमेक र साथीभाइमा सधैँजसो गम्भीर भएर कुरा गर्थ्यो ।’ ”यसरी बिग्रँदै गयो भने देश भिखारी हुन्छ, जनता पनि अप्ठ्यारोमा पर्छन्” उनको यो चिन्ता परिवारले पटक–पटक सुनेको थियो ।

जेनजीले शान्तिपूर्ण प्रदर्शन भन्दै गत भदौ २३ गते आह्वान गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमन र निर्दोष युवाहरूको मृत्युले अनिशलाई गहिरो पीडा दिएको थियो । उनी जेनजी आन्दोलनका औपचारिक सदस्य थिएनन् तर अघिल्लो दिनको घटनाले उनलाई चुप बस्न नसक्ने बनायो । देशमा भ्रष्टाचार बढ्यो भनेर आन्दोलनमा गएका स्कुले पोसाक लगाएका बच्चा मारिएको देखेर उनलाई झन् आक्रोशित बनायो ।

भदौ २४ गते बिहान बाबुछोरासँगै थिए। करिब ११ बजेतिर अनिश ‘एकछिन विरोध प्रदर्शन भएको ठाउँमा पुगेर आउँछु’ भन्दै घरबाट निस्किए। ५–७ वटा मोटरसाइकलमा साथीहरूसँगै उनी गोङ्बुतर्फ लागे । “अनिशले भिडको दृश्य मोबाइलबाट लाइभ देखाइरहेका थिए भन्ने सुनेको थिएँ,” भीमबहादुर भन्छन्, “तर मैले त्यो लाइभ हेरिनँ ।” करिब दिउँसो २ बजेतिर ‘बाबुलाई पाखुरामा गोली लाग्यो’ भन्ने खबर आयो । “छोरो घाइते भयो भनेपछि बुहारीलाई नजानु, म जान्छु भनेर मेट्रो अस्पताल महाराजगञ्ज पुगेँ,” उनले भने, “त्यहाँ पुग्दा थाहा पाएँ—उनी त घटनास्थलमै बितिसकेका रहेछन् ।”

त्यो दृश्य सम्झिँदा उनी अझै सम्हालिन सक्दैनन् । “हामीले छोरा गुमायौँ, दुई जना नातिहरूले बुबा गुमाए, बुहारीको सिन्दुर पुछियो, आमाको काख रित्तियो,” गला अवरुद्ध पार्दै भीमबहादुरले भने, “हाम्रो परिवारको मियो नै उखेलियो ।” अनिशलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर सहिद घोषणाले मात्रै पीडा कम नभएको भीमबहादुरको भनाइ छ ।

“देशका लागि छोराले बलिदानी दिए” उनले भने, “तर हामी सामान्य परिवार हौँ । एक पेट खान जसोतसो पुगेको थियो, अबको भविष्य झन् अनिश्चित देखिएको छ ।”अनिशकी श्रीमती मञ्जु पौडेलको लागि जीवन एकाएक अवरुद्ध बनेको छ । “मेरो दुई साना छोरा छन्, अब उनीहरुको भविष्यले सधैँ चिन्तित बनाएको छ” उनले भनिन् । अनिश–मञ्जुका जेठो छोरा निकोलस १४ वर्ष र कान्छो मेल्सन दुई वर्षका छन् । निकोलस अहिले कक्षा आठमा पढ्दै छन् । करिब १५ वर्षको वैवाहिक जीवनमा अनिश लामो समय वैदेशिक रोजगारीमा थिए । विसं २०४० मङ्सिर १९ गते गोरखाको पालुङ्टारमा जन्मिएका अनिस कोरोना महामारीपछि दुबई र कतारको लामो बसाइँ अन्त्य गर्दै स्वदेशकै केही इलम गर्ने लक्ष्य लिएर फर्किएका थिए ।

काठमाडौँको बसुन्धारामा साझेदारीमा कार्पेट व्यवसाय सुरु गरे। व्यवसायले गति लिन नपाउँदै कोरोना महामारी फैलियो । कोरोनाका कारण साझेदार र साझेदारकी श्रीमती दुबैको निधन भएसँगै व्यवसाय पनि चौपट भयो । कार्पेट व्यवसाय बन्द भएपछि पराजुलीले काठमाडौँकै रमाइलोडाँडामा जस्ताको टहरा बनाएर सानो किराना पसल सञ्चालन गरे । विदेशबाट कमाएको पैसाले एकतले घर निर्माण गरेका थिए।

पछि कोरोनाको समय र व्यवसायको असफलताले त्यो पनि बेच्ने अवस्था आयो । “उहाँ अरूलाई परेको अन्याय सहन नसक्ने मान्छे हुनुहुन्थ्यो,” मञ्जु भनछिन्, “अघिल्लो दिन विद्यार्थीमाथि गोली चलेको घटना अन्याय हो, यसको विरोध गर्नुपर्छ भनेर उहाँ जानु भएको, फर्कनुभएन ।” त्यसदिन दिउँसो २ः३० बजेतिर गोली लागेको खबर छिमेकीबाट मञ्जुले थाहा पाइन् । उनलाई अस्पताल पु-याउँदा ढिला भइसकेछ । पतिको निधनपछि मञ्जुलाई अब के गर्ने, कसरी बच्चा हुर्काउने ? भन्ने प्रश्नले सताएको छ ।

अनिश पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त थिए । किराना पसल भए पनि ग्राहकका घरघरमा दैनिक उपभोग्य सामान पु-याउन लैजाने गर्थे । पसल रामै्र चल्दै थियो । अब यो कसरी के गर्ने र घर परिवार धान्ने ? भन्ने छटपटी मञ्जुलाई भएको छ । अनिशका नजिकका साथी सन्दीप खत्री जेनजी सुशासन योद्धा अनिशलाई समाजसेवी स्वभावका व्यक्तिका रुपमा सम्झिन्छन् ।

भदौ २३ गते नयाँ बानेश्वरमा स्कुले विद्यार्थीमाथि भएको गोली प्रहारको घटनाबारे उनीहरूबीच लामो कुराकानी भएको थियो । “निर्दोष बच्चाहरू मारिनु देशका लागि दुर्भाग्य हो भनेर उनी निकै चिन्तित थिए,” सन्दीप सम्झन्छन् । सन्दीपले मेट्रो अस्पतालमा आफ्नो हितैषी अनिशको निधन भएको थाहा पाए । “सरकारबाट सहिद परिवारले पाउने रु १५ लाख सहयोग पाएका छन् तर पीडा त्यतिले मेटिँदैन”, सन्दीप भन्छन् “दोषीलाई कारबाही र सुशासनको अनुभूति नभएसम्म न्याय भएको महसुस हुँदैन ।” सन्दीप र अनिशको वडा फरक भए पनि मित्रता एकदम निकट थियो । उनीहरुबीच पारिवारिक नाता सम्बन्ध पनि थियो । अहिले आत्मिय साथी गुमाउनु पर्दा सन्दीपलगायत धेरैलाई एक्लो महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!