रुपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्षका ‘देवर’ नाता पर्नेको निधनपछि आइतवार सार्वजनिक बिदा दिइएको छ ।
मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा बिदा दिइएको हो, जसको चौतर्फी आलोचना भएको छ । गाउँपालिका अध्यक्ष गयाप्रसाद वरइद्वारा जारी सूचनामा बिदाको जानकारी दिइएको छ ।
‘उपाध्यक्षको देवरको शनिवार साँझ मोटरसाइकल दुर्घटनामा मृत्यु भयो,’ अध्यक्ष वरइले लोकान्तरसँग भने, ‘आफ्नो दुःख पर्दा सहयोग त गर्नुपर्यो । हामी पनि दुःख परेको घरमा व्यस्त हुने हुँदा कार्यालय जान पाइएन । जनतालाई कार्यालय आएर फर्किन नपरोस् भनेर बिदा दिइएको हो ।’ देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम उल्लेख गरिएको छैन । गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिका, सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जनाएको छ । अध्यक्ष बइर र उपाध्यक्ष सिंह जनता प्रगतिशील पार्टीबाट निर्वाचित भएका हुन् । मर्चवारी रुपन्देही दक्षिणी क्षेत्रमा रहेको पालिका हो ।