सत्ता पक्षका सांसदहरुले किसानका लागि रासायनिक मलको अभाव अहिलेको प्रमुख समस्या रहे पनि बजेटमाथिको छलफल नै स्थगन गर्नु ठिक नभएको बताएका छन् । नेकपा एमालेका सांसदहरुले रासायनिक मलको अभावबारे छलफल गर्नका लागि ल्याएको स्थगन प्रस्तावमाथि छलफल गर्दै सत्ता पक्षका सांसदले खेतीको सिजनमा मलको अभाव नेपाल र नेपाली जनताको नियति नै भएको बताए ।
नेपालमा मल उत्पादन नहुने भएका कारण नै हरेक वर्ष खेतीको सिजनमा मल अभाव हुने गरेको भन्दै उनीहरुले नेपालमै मलको कारखाना खोल्नतर्फ सरकारले काम अघि बढाउनुपर्नेमा जोड दिए । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले दुई तिहाइ बहुमतको सरकार हुँदा पनि मलको अभावसम्बन्धी समस्या भोग्नु परेको बताए ।
नेकपा माओवादी केन्द्रकी रामकुमारी चौधरीले पनि किसानहरू मलको अभावमा पिल्सिरहेको भन्दै यो समस्या आजमात्र सिर्जना नभएको बताइन् । नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले मलको अभावले किसान मर्कामा परेको र यो समस्याको दिगो समाधान भनेको स्वदेशमै मल कारखाना स्थापना गर्नु नै रहेको प्रस्ट पारे । उनले यसका लागि स्थगन प्रस्ताव नै ल्याएर छलफल गर्नु उचित नभएको बताए ।
जसपा नेपालका प्रमोद साहले स्थगन प्रस्ताव देशको अवस्था हेरेर आज आए पनि मलको अभावसम्बन्धी समस्या आजको नभएको बताए । उनले समस्याको स्थायी समाधान खोज्ने हो भने नेपालमै मल कारखाना खोल्न आवश्यक रहेको बताए ।