मोरङको पथरी शनिश्चरे नगरबाट वितरित भइरहेको अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाउन आज छलफल भएको छ ।
नेपाल अपाङ्ग महिला संघको जिल्ला समितिले पथरीशनिश्चरे नगरको अपाङ्गता परिचयपत्र वितरण समितिसँग छलफल गर्दै त्यसलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको हो । छलफलमा वडाध्यक्ष र सचिवले अपाङ्गताको ऐन तथा कानून प्रष्ट बुझेर मात्र सिफारिस गर्दा सहज हुने ठहर गर्दै वडाध्यक्ष र सचिवसँग पनि अन्तरक्रिया गरिने निर्णय भएको छ । जसका लागि चैतको दोस्रो साता कार्यक्रम राखिने संघकी अध्यक्ष भीमा खतिवडाले बताउनु भयो ।
छलफलमा, अपाङ्गता भएकाहरुको अवस्थालाई गहन हिसावले केलाउँदै ऐनको परिधीमा रहेर मात्र निक्र्यौलमा पुग्नु पर्ने अवस्था रहेको खतिवडाले चर्चा गर्नुभयो । अपाङ्गताको परिचयपत्र वितरण गर्दा उनीहरुको कठीन अवस्था देखेर भावनामा बहेर वितरण गर्दा कानूनी प्रावधान उल्लंघन हुनसक्ने कुरालाई ध्यान दिनु पर्ने उहाँले वताउनु भयो । विभिन्नखाले बहानावाजी गर्ने र जिद्धी समेत गरेर भत्ता पाउनेखाले परिचयपत्र बनाउने सोचलाई चिर्नुपर्ने पनि उहाँले वताउनु भयो ।
अधिकारका लागि अभियान सञ्चालन गरिरहेको संघले सहजिकरण गरेको छलफलमा अपाङ्गताको अधिकार स्थापित गर्न आफुहरु लागिरहेको नगर उपप्रमुख एवम् परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाले वताउनु भयो । उहाँले परिचयपत्रको प्रक्रियामा आउँदा जाँदा समस्या हुने जटिल अवस्थाका अपाङ्गता भएकाहरुलाई गाडीको समेत व्यवस्था गर्ने गरेको जनाउनु भयो । उहाँले अति अशक्त अपाङ्गताका लागि फागुन २१ गते घर घरमा गएरै उनीहरुलाई परिचयपत्रको सेवा दिने योजना वनाएको जानकारी गराउनु भयो ।