टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी) लाई २०४ रनको लक्ष्य दिएको छ । टी–२० क्रिकेटमा पिएनजीलाई नेपालले दिएको यो हालसम्मकै ठूलो योगफल हो ।
यसअघि यही सिरिजमा नेपालले पिएनजीलाई १८४ रनको लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेले । चौथो अर्धशतक बनाउने क्रममा उनले ३३ बलमा चार छक्का र तीन चौकासहित ६६ रनको योगदान दिए । योसँगै दीपेन्द्रले नेपालको तर्फबाट टी–२० मा सर्वाधिक अर्धशतक बनाउने मामलामा पूर्वकप्तान पारस खड्काको रेकर्ड बराबर पनि गरेका छन् ।
पारसले पनि यो प्रारूपमा ४ अर्धशतक बनाएका छन् । टी–२० मा सर्वाधिक अर्धशतक बनाउने नेपाली ब्याटरको शीर्षमा भने कुशल भुर्तेल छन् । उनले हालसम्म सर्वाधिक ५ अर्धशतकीय पारी खेलेका छन् ।
त्यस्तै, आज डेब्यू गरेका आदिल अन्सारीले पनि शानदार पारी खेले । उनले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रनको योगदान दिए । रोहितकुमार पौडेलले पनि शानदार ब्याटिङ गरे । उनले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रन बनाए ।
आसिफ शेखले २९ बलमा चार चौका र एक छक्कासहित ३८ रनको योगदान दिए । २१ बलको सामना गरेका कुशल भुर्तेल १७ रनमा आउट भए । उनले त्यसक्रममा दुई चौका हिर्काए ।
करण केसी एक र दिलिप नाथ भने शून्यमै आउट भए । पिएनजीका काबुआ मोरियाले तीन, रिले हेकुरेले दुई, नौसेना पोक्वाना र नोमर्न भानुआले एक/एक विकेट लिए ।
एकै ओभरमा बन्यो ३२ रन
पिएनजनीविरुद्ध नेपाली ब्याटरले एकै ओभरमा ३२ रन जोडेका छन् । नेपालले १९ औं ओभरमा ३२ रन जोडेको हो । सो ओभरको पहिलो बलमा मा मोहम्मद आदिल आलमले चौका हिर्काए । दोस्रो बलमा उनले नै छक्का प्रहार गरे ।
तेस्रो बलमा फ्रि–हिटमा पनि उनले छक्का हिर्काउँदै सात रन जोडे । फेरि आदिलले उत्कृष्ट छक्का प्रहार गरे । चौथो बलमा उनले तीन रन जोड्दा पाँचौं बलमा दीपेन्द्रले छक्का हिर्काए । अन्तिम बलमा भने दीपेन्द्र आउट हुन पुगे ।
२ ओभरमा ५६ रन
नेपालले १८ औं ओभरमा धेरै रन जोड्यो । यो ओभरको पहिलो तीन बलमा दीपेन्द्रले लगातार तीन छक्का हिर्काए । त्यस्तै, चौथो बलमा दीपेन्द्रले एक रन लिए । पाँचौं बलमा आदिलले एक रन जोड्दा छैटौं बलमा दीपेन्द्रले चौका हिर्काउँदै ओभर अन्त्य गरे । यो ओभरमा नोर्मन भानुआले बलिङ गरेका थिए । यसरी २ ओभरमा आदिल र दीपेन्द्रले कुल ५६ रन बनाए ।