२ मंसीर, गोरखा । गत असोज १३ गते उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ स्थित ‘चुम सिप्चेट मानखाङ गुम्बा’ उद्घाटन गर्न नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण हेलिकप्टर मार्फत पुगे ।
हेलीकप्टर चढेर गुम्बा उद्घाटन गर्न गएका गृहमन्त्री खाँणलाई चुमउपत्यकाबासीहरुले भव्यताका साथ आथित्यता प्रदान गरे ।
जतिबेला खाँण चुमउपत्यका पुगेका थिए त्यो भन्दा महिनौ अघिदेखि (गत साउन ३०) देखि चुमनुव्री–६ चुम्चेत र ७ को छेकम्पार प्रवेशद्वार लोक्पाखोलामा पहिरोले बाटो अवरुद्ध भईसकेको थियो । पहिरोले गाउँ प्रवेश गर्ने एकमात्र पैदलमार्ग पुरिएपछि दुई वडाका ७ सय घरपरिवार गाउँमै थुनिएर बस्न बाध्य थिए । संचित गरेर राखेको खाद्यान्न बिस्तारै सकिँदै थियो । विपन्न र गरिब केही घर परिवार खाद्यान्नको हाहाकार अबस्थामा गुज्रिरहेका थिए ।
प्राकृतिक विपत्ति अनि त्यसपछिका समस्यासँग पैठेजोरी खेलिरहेका चुमनुब्रीवासीलाई गृहमन्त्री खाँणले प्रतिबद्धता जनाउँदै भने, ‘एक महिना भन्दा धेरै समयदेखि बाटो बन्द भएर समस्या भएको रहेछ, गृहमन्त्रालयले तत्काल बाटो खुलाउन पहल गर्नेछ । तत्काल खाद्यान्न राहत उपलब्ध गराउँछ ।’
गृहमन्त्री खाँणको त्यो प्रतिबद्धताले समस्याका चाङमा पिरोलिएका चुमनुव्रीबासीलाई तत्कालको लागि ठूूलो राहत दियो । आश पलायो—‘अब खाद्यान्नको समस्या हुँदैन् । बाटो पनि छिट्टै खुल्छ ।’
गुम्बा उद्घाटनको मेसो मिलाएर गएका गृहमन्त्रीले त्यहाँका स्थानीयलाई बाटो तत्काल खुुलाउन पहल गर्ने भनेर प्रतिबद्धता गरेर फर्कको डेढ महिना बितिसक्यो । तर, अहिलेसम्म बाटो खुलाउने कुनै सुुरसार छैन् । यहाँ स्थानीय, प्रदेश वा संघ कुुनै ,तहका सरकारले पनि अहिलेसम्म स्थलगत अध्ययनका लागि प्रतिनिधि तथा प्राविधिक पठाएका छैनन् ।
चुमनुव्री–६ का वडाध्यक्ष लोप्साङ लामाका अनुसार गत असोजमा वडा, पालिका र प्रशासनको लगातारको ताकेतापछि गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत छेकम्पार र चुम्चेतमा ९४ क्विन्टल चामल पठाएको थियो ।
‘सरकारको तर्फबाट भनेर एक पटक सेनाको हेलीकप्टरबाट चामल आइपुगेको थियो । यहाँका प्रत्यक घरलाई १५÷१५ किलोका दरले पुगेको थियो । त्यो पनि ३० केजीको १५ सयका दरले रकम उठाएर खाद्यान्नका कर्मचारीलाई दिएको हो । सरकारले दिएको ढुवानी अनुदान मात्रै हो । अरु केही छैन्’, चुमनुव्रीका सामाजिक अभियान्ता निमा लामा भन्छन् ।
पहिरो जानुभन्दा अघि यहाँ खच्चडबाट खाद्यान्न ढुवानी गरिन्थ्यो । तर, विगत तीन महिनादेखि यहाँ आवतजावत ठप्प छ । न खच्चड हिँड्न सक्छ, न मान्छे नै । गत भदौदेखि यि दुई वडामा नुन, तेल, चामल, चिनि लगायतका खाद्यान्न ढुवानी हुन सकेको छैन् । त्यसअघि ढुवानी गरेका बाँकी सामग्री पनि सकिन थालेपछि अहिले स्थानीयहरु गहुँको ढिँडो र फापरको रोटी खाएर छाक टारिरहेका छन् ।
लामा भन्छन्, ‘यहाँ खाद्य संकट सुरु भईसक्यो । तत्काल सरकारले यस बिषयमा ध्यान दिनुपर्छ ।’ समयमै सरकारले यहाँका समस्या समाधान नगरे खाद्य संकट सँगसँगै ै यहाँका स्थानीयहरुमा बिभिन्न खाले पोषणको अभाव हुने संकेत देखिन्छ ।
गृहमन्त्रीलाई बचाउ गर्दै सिडियो, झुटो बोल्दै भन्छन्, —बाटो खुलिसक्यो
गाउँमा खाद्य संकट हुुन थालेपछि केही दिनयता स्थानीय युवाहरु ज्यान जोखीममा राखेर पहिरोलाई वेवास्ता गर्दै आउजाउ गर्न थालेको लामा बताउँछन् ।
भन्छन्, ‘खाद्य संकट लागेपछि अर्काे बिकल्प के हुन्छ र ? माथिबाट ढुंगा कतिबेला खस्छ भर हुुँदैन् । तर, स्थानीय केही युवाहरु जसोतसो पहिरो छल्दै आउजाउ गर्न थालेका छन् । माथिबाट पहिरो खसिहाल्यो भने के हुने हो ? खै सोच्या सम्बिन्धीत निकायले ?’
स्थानीयका अनुसार चुमउपत्यकाको समस्या ‘ज्यूँ का त्यूँ’ छ । तर, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भने समस्या समाधान भईसकेको झुटो दाबी गर्छन् ।
सिडियो आचार्य भन्छन्, ‘दुई÷तीन दिन भयो त्यहाँ अहिले बाटो सन्चालनमा आईसक्यो । स्थानीयले खच्च्डबाट खाद्यान्न ढुवानी गर्न थालिसके । स्थानीयहरु आउजाउ गर्न थालिसके ।’
समस्या समाधान भईसकेको भनेर सिडियोले झुट बोलेको भन्दै त्यहाँका एक स्थानीय आक्रोशित हुँदै भन्छन्, ‘सिडिओ हिँडेर जानु पर्याे नि । हेलिकप्टरमा गएर समस्या थाहा हुन्छ ? त्यसै झुुटो प्रतिवेदन दिएर हुन्छ ? हिँडेर गएर त्यहाँको समस्याको बास्तविकता सम्बन्धित निकायलाई पठाउनु पर्ने मान्छे समस्या समाधान भईसक्यो भनेर झुटो बोलेर हुन्छ ?’