
काठमाडौं, कात्तिक ८ । नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत बिजुली प्रयोग गर्ने तर महसुल नतिर्ने उद्योगहरूको लाइन काट्न थालेपछि उद्योगीहरू आन्दोलित बनेका छन्। शुक्रबार रातिदेखि थप १८ उद्योगको विद्युत सेवा रोकिएपछि उद्योग क्षेत्र तनावग्रस्त बनेको छ।

स्रोतका अनुसार, उद्योगीहरूले असन्तुष्टि जनाउँदै अब उद्योग बन्द गरेर भोलि (कात्तिक ९ गते) प्राधिकरणलाई ताला–चाबी बुझाउने तयारी गरेका छन्। शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलले भने, “हामी भोलि प्राधिकरणलाई उद्योगको चाबी बुझाउँदैछौं, यस्तो वातावरणमा उत्पादन सम्भव छैन।”
हालसम्म प्राधिकरणले २४ उद्योगको बिजुली काटिसकेको छ। हालै काटिएका उद्योगहरूमा पञ्चकन्या स्टिल, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, भलवारी स्वचालित कारखाना, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन र त्रिवेणी सिन्थेटिक यार्नलगायत रहेका छन्।
ऊर्जा मन्त्री कुलमान घिसिङले भने महसुल नतिर्ने उद्योगहरूसँग “कसरी पनि बक्यौता असुल गर्ने” चेतावनी दिएका छन्। तर उद्योगीहरूले महसुल निर्धारणमा पारदर्शिता नहुँदा समस्या उत्पन्न भएको दाबी गर्दै स्पष्ट हिसाब मागिरहेका छन्।
हालै ह्यात होटल बन्द भएको सूचना सार्वजनिक भएसँगै अन्य ठूला होटल तथा उद्योगहरूमा पनि अनिश्चितता बढ्दै गएको छ। व्यापारी संघसंस्थाले यस्तो अवस्थामा बिजुली काट्ने निर्णयले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।