हिपमत डटकम

बिहिबार, मंसिर ०२, २०७८ || 713  पटक पढिएको

आज कार्तिक धवल त्रयोदशी मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवस विभिन्न कार्यक्रम गरी स्मरण गरिएको छ । आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा ठुलो योगदान दिएका विद्यापतिको स्मरण गर्दै विराटनगरमा पनि कार्यक्रम गरेर मनाइएको छ ।

विराटनगरको त्रिमूर्ति चोकमा बुधबार मैथिली सेवा समितिले महाकवि विद्यापतिको स्मृति दिवस मनाएको छ । मैथिली सेवा समितिका केन्द्रीय अध्यक्ष डा. एसएन झाको नेतृत्वमा आयोजित स्मृतिसभामा महाकवि विद्यावतिको प्रतिमामा माल्यार्पण गरिएको थियो । सभामा उपस्थित भगवान झा, श्याम अधिकारी, प्रवीननारायण चौधरी, विवेक ठाकुर, वरुण मिश्रा, विमल पौद्दार, वसुन्धरा झा र प्रीति झाले आ–आफ्नो विचार व्यक्त गरी विद्यापतिलाई स्मरण गरेका थिए ।

यस्तै, कोभिड–१९ र पछिल्लो परिस्थितिका कारण विद्यापतिको स्मृति दिवस लक्षित कार्यक्रम गर्न नसकिए पनि कुनै पनि मैथिली कार्यक्रम सुरु हुनुभन्दा अगाडि विद्यापतिको स्मरण गर्दै सम्झने गरेको विराटनगरका पत्रकार नवीन कर्ण बताए । विद्यापतिलाई लक्षित गरी कुनै कार्यक्रम गर्न नपाए पनि विराटनगर महानगरभित्र भएका सांस्कृतिक, साहित्यिक कार्यक्रम सुरु गर्दा विद्यापतिको प्रतिमामा माल्यापर्ण गर्ने, उनले रचना गरेका पदावली तथा रचना प्रस्तुत गर्ने परम्परा चलिआएको उनको भनाइ छ ।

विद्यापतिको काल सन् १३५० देखि १४५० मानिन्छ । मैथिली भाषा र साहित्यमा अतुलनीय योगदान पुर्‍याएका विद्यापतिलाई नेपाल र भारत दुवै देशका मैथिलीभाषीले समान रूपले सम्झने गरेका छन् । विद्यापतिलाई उच्च सम्मान गर्दै दुवै देशले आ–आफ्नो देशको हुलाक टिकटमा उनको तस्बिर अङ्कित गरेका छन् ।

विद्यापतिले सम्पूर्ण जीवन साहित्यलाई अर्पित गरेका थिए । मृत्युको अन्तिम क्षणसम्म उनले पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहेको बताइन्छ । विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो । उनका रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन् । मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणयलगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुईवटा खण्डकाव्य कीर्तिलता र कीर्तिपताका तथा संस्कृत–प्राकृत–मैथिलीमा गोरक्षविजय र संस्कृत–प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन् ।

संस्कृतमा उनले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेखेका थिए । तीमध्ये शिक्षाप्रद रोचक कथा सङ्कलन पुरुषपरीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ । विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दुर्गाभक्ति तरङ्गनि, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड भक्तितरङ्गनि आदि अमर कृति छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!