विराटनगरका अधिकांश घरपरिवारको खेती छैन

खाद्यान्नका लागि बजारकै भर

सोमबार, कार्तिक २९, २०७८ || 600  पटक पढिएको

केही दशक पहिलेसम्म खेती (कामत) सहरमा बस्नेका लागि अनिवार्य थियो । आफ्नै खेतको चामल, आँटा, तेल, तरकारी र फलफूल खान गाउँमा खेतीपाती राख्ने चलन थियो । तर, पछिल्लो समय खेतीपाती गर्दा लागतसमेत उठ्न नसक्ने, प्लटिङ बढेको, धेरै जग्गा राख्दा ‘आँखी’ हुने भएकाले पनि सहरमा बसोबास गर्नेको गाउँमा जग्गा हुन छाडेको छ । यो कुरा अध्ययनले पनि देखाएको छ ।
विराटनगरकै कुरा गर्ने हो भने अधिकांश घरपरिवार खाद्यान्न आत्मनिर्भरतामा कमजोर छन् ।

विराटनगरमा २९९२७ घरपरिवार संख्यामा आधाभन्दा बढी घरपरिवारसँग खेती छैन । विराटनगरमा रहेका जम्मा घरपरिवारमध्ये १७२३९ घरपरिवारको कुनै खेती छैन । ती घरपरिवारले वर्षैभर चामलदेखि दालसम्म र तरकारीदेखि तेलसम्म पैसा तिरेर खानु परेको छ । बढ्दो महङ्गीमा सम्पूर्ण खाद्यान्नका सामग्री बजारबाट किनेर खानुपर्दा कतिपय घरपरिवारलाई सकस पर्ने गरेको छ ।
बढ्दो जनसंख्या एवं सहरीकरणले विराटनगर क्षेत्रमा खेतीयोग्य जमिनको ज्यादै कम छ । जमिनको भाउ आकासिएसँगै खेती लायकका जमिन बिक्री वितरण भई घडेरीमा परिणत हुँदा उत्पादन क्षेत्र खुम्चिदै गएको हो ।

विराटनगरका धान फल्ने खेतमा हाल घरैघर देखिन थालेको छ । खेतीयोग्य जमिनमा जनघनत्व बढ्दै जाँदा खाद्यान्न उत्पादनमा समेत असर पुगेको छ । खेतीयोग्य जमिनलाई घडेरीमा रूपान्तरित हुनबाट रोक्न सरोकारवाला निकायहरू मौन देखिएका छन् । खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै जाने हो भने एकदिन खाद्य संकट निम्तिने पक्का छ । हिजोका जमिन्दारहरू मोजमस्तीमा रम्दा सम्पूर्ण खेत बिक्री हुन गई तिनका घरपरिवार कंगाल हुन पुगेका छन् भने विगाहाका विगाहा जग्गाका मालिकहरू हाल धुरमा पुगेका छन् ।

समाजमा खेतीहुनुलाई अझै पनि ‘रइसी’ को रूपमा हेरिन्छ । खेती हुने मानिसको छुट्टै शान हुने गरेको छ । १० कठ्ठादेखि १ विगाहा खेतपनि हालको दिनमा धेरै देखिन्छ । विराटनगरका १७ हजारभन्दा बढी घरपरिवारको खेती नहुँदा सम्पूर्ण कुराको लागि बजारको भर पर्नुपरेको छ । भएका अधिकांशले आफै खेती गर्दैनन् । खेतीमा उनीहरूको चासो कम छ ।

खेतको अभावमा सम्पूर्ण कमाई खान लाउनमै ठिक्क हुँदा जिन्दगी चल्न गा¥हो हुँदै गइरहेको छ । डिजिटल नगर पाश्र्वचित्र अन्तर्गतको घरधुरी सर्वेक्षणको तथ्याङ्कअनुसार विराटनगरमा खेतीबाट ३ महिनाभन्दा कम खानपुग्ने घरपरिवारको संख्या १७३१ छ । १४७६ जनालाई खेतीबाट ४ देखि ६ महिनासम्मको खान पुग्ने आयस्था छ ।

यस्तै ८१० घर परिवार खेतीबाटै ९ महिनासम्म पालिएका छन् । विराटनगरमा रहेका ५५१० परिवारलाई खेतीले १० महिनाको खान पुग्ने अन्नबाली दिएको छ । यीमध्ये केहि घरपरिवारले वर्षैभरी खेतकै भर परेका छन् ।

विराटनगरका ११५९ घरपरिवारले खेतीबाट उब्जाएको खाद्यान्न वर्षैभर खाएर बचेको खाद्यान्नलाई बेच्ने गरेका छन् । यसरी धेरथोर खेती हुनेहरू केहि हजारमा भएपनि खेती नहुनेको संख्या झण्डै २० हजारको नजिक छ । यस्ता घरपरिवारको खेती नहुँदा अतिरिक्त आम्दानीको लागि नोकरी वा अन्य व्यवसायकै भर पर्नु परेको छ । कोरोनाकालमा लकडाउन हुँदा विराटनगरका खेती नहुने परिवार नै अत्याधिक मारमा परेका थिए ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!