इन्धनमा भएको व्यापक मूल्यवृद्धिको विरोधमा कांग्रेस कटहरी गाउँ इकाई समितिले प्रदर्शन गरेको छ ।
इन्धनमा लगातार जसो मूल्यवृद्धि भइरहेको छ । विभिन्न बहानामा नेपालमा पेट्रोलियम पदार्थमाथि मूल्यवृद्धि गरिँदै आइएको छ । मूल्यवृद्धिका कारण सर्वसाधारणको ढाड सेकिएको छ । मूल्यवृद्धिले आमसर्वसाधारणको जीवन धान्न धौ–धौ बनेको भन्दै कांग्रेस कटहरी प्रदर्शनमा ओर्लिएको हो ।
हाटखोलामा सवारी साधन जाम गराएरै इन्धनमा गरिएको मूल्यवृद्धिको विरोध गरिएको थियो । विरोध प्रदर्शनमा समितिका सभापति रामकुमार कामत, वडा नं. २ का सभापति सञ्जय मण्डल लगायत १५० भन्दा बढी कांग्रेस कार्यकर्ताको सहभागिता थियो ।
नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका केन्द्रीय सदस्य विनायककान्त पन्तले केन्द्रमा आफ्नै सरकार भएपनि सर्वसाधारणको हकहितका सवालमा प्रदर्शनमा ओर्लिनु परेको बताए ।
पन्तले इन्धनको मूल्य वृद्धिलाई १० दिनभित्र फिर्ता नगरिए चरणवद्ध आन्दोलन गर्ने बताए । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रूपैयाँ प्रतिलिटर र एलपी ग्याँसमा ७५ रूपैयाँप्रति थान सिलिण्डरमा मूल्यवृद्धि गरेको छ ।