शुक्रबार, कार्तिक १२, २०७८ || 551  पटक पढिएको

हामीलाई गणतन्त्र चाहियो । राजालाई विदा गरियो र, गणतन्त्र ल्याइयो । नेपालमा कति छिटो राजनीतिक परिवर्तन हुन्छ । नेपालीको चाहना यति छिटो अगाडि बढिरहेको छ मनको बेगभन्दा तिब्र छन् राजनीतिक व्यवस्था परिवर्तनका आशाहरू ।

नेपालको इतिहासमा ८ दशकयताको चाह हेर्दा हरेक १०–१५ बर्षमा आशाहरू फेरिएका छन् । सात सालको क्रान्तिमा राणाशासनलाई विदा गरियो । निरङ्कुश भयो भनेर राणाशासन अन्त्य गरियो र, प्रजातन्त्र ल्याइयो । त्यसको १० बर्षपछि १७ सालमा प्रजातन्त्रको ट्रयाक बसिसकेको अवस्थामा राजा महेन्द्रले प्रजातन्त्र कू गरे । यसबीच राजनीतिक परिवर्तनको आशा राखेर सशस्त्र युद्ध नै भयो । कांग्रेस भूमिगत बस्यो ।
०३६ सालमा राजा वीरेन्द्रले प्रजातन्त्र कि पंचायत भनेर जनमत सङ्ग्रह नै गराए । प्रजातन्त्रले हा¥यो । यसको १० बर्षमा ०४६ सालको जनआन्दोलन भयो । जनआन्दोलन सफल भएको ५÷६ बर्ष भएको छैन माओवादीले आतंक फैलाउन थाले देशभर । उनीहरूलाई गणतन्त्र चाहियो ।

राजा ज्ञानेन्द्रले प्रजातन्त्र कू गरे महेन्द्र शैलीमा । जनता फेरि जागे र, गणतन्त्र आयो । ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट निकालियो । नेपालमा अरू केही काम छैन, मानौं राजनीतिक परिवर्तन मात्र काम हो । राजनीतिक परिवर्तनको चाहबाहेक अरू केही काम छैन ।
अहिले पुनः राजा चाहिएको छ कतिलाई । राजा आऊ देश बचाउ भन्नेहरू सक्रिय छन् । हिजो गणतन्त्र माग्नेहरूलाई राजा चाहिएको छ । दलहरूको विरोधमा, नेताहरूको विरोधमा जनमत तयार गर्न थालिएको छ । राजालाई पनि स्पेस दिनुपर्छ भन्ने माग बढेको छ । यो माग नभएर राजनीतिक परिवर्तनको चाह नै हो । कायम रहेको राजनीतिक अवस्थामा सुधार ल्याउनु भन्दा हरेक पुस्ता परिवर्तनमै रम्न थालेको छ ।
के नेपालमा यसरी राजनीतिक परिवर्तन भइरहनु आवश्यक छ ? नेपालजस्तो सानो देश र विदेशीको रणनीतिमा रूमलिएको ठाउँमा राजनीतिक परिवर्तनको नारा मज्जाले घन्कन थालेको छ । नेपालीको बानी विग्रिएको हो ?

संसारका धेरै देशहरूमा राजनीतिक परिवर्तनपछि स्थीर बनाउँदै विकासको मूल फुटाउने कार्यले सफल भएका छन् । तर, हामीकहाँ स्थीरता होइन अस्थिरताको खेल बढ्दो छ । यहाँ राजनीतिक परिवर्तनका नाममा नयाँ पुस्तालाई गुमराहमा पार्ने, भुलाउने कार्य भएका छन् ।
देश बनाउन राजनीतिको भूमिका महत्वपूर्ण हुन्छ तर, सस्तो राजनीतिक परिवर्तन कुनै पनि देशका लागि घातक हुन्छ । मूडअनुसार परिवर्तन भइरहने राजनीतिक चाहले देश भड्खालोमा जान्छ । देश बन्ने होइन बनेको सीमित संरचनासमेत भत्कने खतरा हुन्छ ।

तपाईं हेर्नुहोस् न आज पंचायतमा बनेका संरचना प्रजातन्त्रबादी (०४६ सालपछि) ले भत्काए । ०४६ सालपछि बनेका संरचना गणतन्त्रबादीले भत्काए । अब गणतन्त्रबादीले बनाएको संरचना आउँदो परिवर्तनले बाँकी राख्ने छैन । बनाउँदै भतकाउँदै, भतकाउँदै बनाउँदै गर्ने लुकामारी नेपाली राजनीतिमा देखियो । यो शुभसंकेत किमार्थ होइन । यो भष्मासुर प्रवृत्ति हो । भष्मासुर प्रवृत्तिले देश बन्दैन, बनेको चिजसमेत भत्किन्छ ।
यो नेतृत्वको असफलता हो । नेतृत्व सही भएको भए राजनीतिक परिवर्तनको खेल यसरी भइरहने थिएनन् । स्पष्टसित भन्ने हो भने यसमा नेताहज्ञ दोषी छन् । गणतन्त्र ल्याएर पनि गणतन्त्रको फूलबारीमा फूल फुलाउन नसक्ने शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालहरू दोषी छन् । यदि उनीहरूले देश चलाउन सक्दैनन् भने नयाँ पुस्तालाई जिम्मा लगाउन । राजालाई जिम्मा दिउन तर, हरेक पुस्तालाई यसरी संघर्ष मै समर्पित गराएर देशलाई पछि पार्नु भएन । अग्रगमनका लागि बाटो खोल्नु प¥यो ।

नेपालमा राजनीतिक अधिकारका नाममा जुन दण्डहीनता मोलाएको छ, जसले जे गर्दा पनि हुने छाडापन सुरु भएको छ पक्कै पनि यो व्यवस्थाका लागि खतरनाक हुनेछ । अधिकार चाहिन्छ तर, आवश्यकताभन्दा बढी अधिकारले देशलाई बिगार्छ । देश बनाउने हो भने नेतृत्वमा योजना हुनुप¥यो । कुन व्यवस्था ल्याएपछि कसोरी व्यवस्थापन गर्ने भन्ने रणनीति नेतृत्वमा देखिएन । फगत युवा पुस्तामा निरासा देखियो ।
यो निरासाले निमेष–निमेषमा राजनीतिक परिवर्तनको आशा गरियो । भो ! नेपालमा अब राजनीतिक परिवर्तनको आशा नगरौं । हरेक पुस्ता आन्दोलनकारी बनेकैले यो देश राजनीतिले चुर्लुम्मै डुबेको हो ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!