रिपोर्टरको कूनो
केही दिनयताको भारी बर्षाले धान बालीलाई धेरै नोक्सान पा¥यो । किसानका सपनाहरू चकनाचुर भए । उनीहरूको पीडा यहाँ शब्दमा व्यक्त गर्न सकिन्न ।
गएको असार–साउन र भदौंमा उनीहरूले खेतमा धेरै मेहनत गरेका थिए र, यसपटक पनि सरकारले कुनै सहयोग नगरे पनि आफ्नै पौरख र मेहनतबाट बाली सप्रिएकोमा दंग पनि थिए । दसैंको खुसी यसरी पनि मनाइयो तर, टिका सकिएपछि यसरी बर्षा भयो मानौं त्यसको दुश्मनी किसान र धान खेतीसित मात्र थियो । यसपटक आयात कम हुने सम्भावना थियो किनभने धान उत्पादन वृद्धि हुने प्रक्षेपण सरकारी स्तरबाट गरिएको थियो ।
म पूर्वी मोरङका धेरै ठाउँमा पुगे, त्यहाँका धेरै किसानलाई भेटें । जहाँ कसैले काटेर थुपारेको, काट्न बाँकी र खेतमै सग्लै छाडिएका धानका बाला बाढीले पुरेको थियो । पानीले छोपेको थियो । किसानका आँखा रसाएका थिए । उनीहरू पीडा अभिव्यक्त गर्न सकिरहेका थिएनन् ।
थालमा पस्किसकेको खानेकुरा कसैले अनायसै आएर फालेजस्तै भएको छ किसानका लागि यो विपद् ।
गत बर्ष ६० अर्ब रुपैयाँ बराबरको चामल भारतबाट ल्याइयो र, यहाँको भुकमरी अन्त्य भयो । यसपटक घट्ने अनुमान थियो । तर, भारी बर्षाले निम्त्याएको विनासले यो बर्ष १ खर्बको चामल ल्याउनै पर्ने बाध्यता देखिएको छ । किनभने धान उत्पादन हुने प्रमुख क्षेत्रमै पहेलपुर बालीलाई बर्षाले सोत्तर पारेको छ । सान्त्वना दिनका लागि बर्षा रोकियो भने धान विग्रदैन भन्नु बेग्लै कुरा हो तर, जसरी पाकेको धान बर्षाले छोपेको छ त्यो सहरी क्षेत्रका वासिन्दाका लागि खान अयोग्य हुनसक्छ ।