
विराटनगर । नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाँडै नै पुनर्गठन गरिने बताएका छन्।

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव राईले यसअघि कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारे। उनले सरकारको नेतृत्वसमेत सहमतिअनुसार तोकिएको समयमा परिवर्तन हुने जिकिर गरे।
राईले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनीतिक दलहरूबीच द्वन्द्व बढाउने दिशामा केन्द्रित रहेको टिप्पणी गरे। तर निर्वाचनको अवस्था आए एमाले त्यसका लागि पूर्ण रूपमा तयार रहेको उनको भनाइ थियो।
उनले संविधानलाई सही ट्र्याकमा ल्याउन संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र त्यसपछि निर्वाचन हुनुपर्ने धारणा व्यक्त गरे।
एमालेको एघारौँ महाधिवेशनका सन्दर्भमा बोल्दै सचिव राईले नेतृत्व चयनका क्रममा स्पष्ट रूपमा दुई प्यानलबीच प्रतिस्पर्धा भए पनि पार्टी अहिले एकढिक्का रहेको दाबी गरे।