एक पछि अर्को क्षेप्यास्त्र परीक्षण गरिरहेको उत्तर कोरियाले आफूले मङ्गलवार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको जनाएको छ । ह्वासङ्–८ नाम दिइएको सो क्षेप्यास्त्र ‘रणनीतिक हतियार’ भएको जनाएको हो ।

नयाँ क्षेप्यास्त्र ह्वासङ्–८ उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएको महत्त्वपूर्ण पाँच हतियार प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।

मङ्गलवारको परीक्षणले कडा प्रतिबन्धका बीच पनि प्योङयाङ अस्त्र विकास र निर्माणको कामलाई निरन्तरता दिएको थप सङ्केत गरेको छ ।

उत्तर कोरियाको सरकारी मुखपत्र कोरियन सेन्ट्रल न्यूज एजेन्सीले “यो हतियार प्रणालीको विकासले हरेक कोणबाट देशको आत्मरक्षा क्षमतालाई थप वृद्धि गरेको छ,“ भनेको छ ।

उत्तर कोरियामा एक महिनाभित्र तेस्रो क्षेप्यास्त्र परीक्षण भएको हो । यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ । त्यस्तै सोही महिनामा बलिस्टिक क्षेप्यास्त्र परीक्षण समेत गरेको थियो ।

हाइपरसोनिक क्षेप्यास्त्र के हो साधारण क्षेप्यास्त्र भन्दा हाइपरसोनिक क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमताका हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने समाचार संस्था एएफपीले जनाएको छ । परीक्षणबाट यो ’क्षेप्यास्त्रको गन्तव्यमा नियन्त्रण स्थिरता’ को पुष्टि गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

उत्तर कोरिया विश्लेषक अङ्कित पान्डा अहिले नै उक्त क्षेप्यास्त्रको क्षमताबारे विस्तृत विवरणहरू पाउन कठिन भएको बताउँछन् । उनका अनुसार यसले परम्परागत प्रविधिमा आधारित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको निम्ति नयाँ चुनौती खडा गरेको अनुमान गर्न सकिन्छ । पान्डाले नयाँ हतियारमा पहिलो पटक सानो भाँडोबाट क्षेप्यास्त्रमा इन्धन भर्ने प्रविधि प्रयोग भएको देखिएको उल्लेख गर्दै यसलाई ’महत्त्वपूर्ण कोशे ढुङ्गा’ भनेका छन् ।

कोरिया टाइम्सका अनुसार इन्धन लागि प्रयोग भएको नयाँ प्रविधिले क्षेप्यास्त्र प्रहार गर्न लाग्ने समय निकै कम गर्नुका साथै हतियारलाई जुनसुकै समयमा पनि प्रहारका लागि तयार राख्न मद्दत गर्ने उल्लेख गरेको छ । पान्डा उत्तर कोरियाली लामो दूरीका क्षेप्यास्त्रहरूलाई यसले बढी प्रभावकारी बनाउने बताउँछन् । राष्ट्रपति किमले सन् २०२१ को ज्यानुअरी महिनामा नै हाइपरसोनिक हतियार प्रणाली विकसित गर्ने अनुसन्धान सकिएको घोषणा गरेका थिए ।

विज्ञहरूका अनुसार अस्त्र निर्माण गर्ने प्रविधिमा सुधार गर्न र अमेरिकासँग वार्ताका लागि आफ्नो हात माथि राख्न प्योङयाङले त्यस्तो परीक्षण गर्ने गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले लागु गरेको प्रतिबन्धहरूले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षणमा मात्र रोक लगाएको छ । परीक्षण लगत्तै संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै उत्तर कोरियाली राजदूत किम सङ्ले हतियारको निर्माण गर्ने आफ्नो देशको अधिकार भन्दै परीक्षणको बचाउ गरे । उत्तर कोरियाले देशको प्रतिरक्षाका लागि यस्ता हतियार निर्माण गरिएको बताउने गरेका छन् ।
(स्रोत ः बिबिसी)

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!