हिपमत डटकम

शनिबार, आश्विन ०२, २०७८ || 326  पटक पढिएको

अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ ।संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाट समेत धेरै बालबालिकाहरू वञ्चित हुने अवस्था आउन लागेको जनाएको छ ।

उनीहरूका लागि अत्यावश्यक पर्ने सेवा तथा सामग्रीहरू तत्काल उपलब्ध गराउनु पर्ने देखिएको पनि युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ती बालबालिकाहरूलाई विषेश गरेर खाद्यपदार्थ, पिउने पानी र औषधि लगायतको आवश्यकता देखिएको हो ।

समयमै बालबालिकाहरूलाई अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराउन नसकेमा मानवीय क्षति समेत हुनसक्ने युनिसेफका अधिकारीहरूले जनाएका छन् । उनीहरूले बालबालिकाहरुमा कुपोषण लगायतका समस्या देखिने खतरा रहेको र कतिपयमा त्यसका लक्षणहरू समेत देखिएको जानकारी दिएका छन् ।

बालबालिकाहरुलाई आवश्यक पर्ने सहयोगका लागि ठूलो आर्थिक सहायताको समेत खाँचो परेको युनिसेफले जनाएको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरिएको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन पनि राष्ट्रसङ्घले अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने विभिन्न देशले प्रतिबद्धता जनाएको भएपनि कार्यान्वयन नभएपछि राष्ट्रसंघले फेरि आग्रह गरेको हो । अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठूलो मानवीय सङ्कट आउन लागेकाले सहयोगको आवश्यकता परेको राष्ट्रसङ्घले जनाएको छ । हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले अफगानिस्तानमा अहिले बालबालिकासँगै महिलाहरूलाई समेत खाद्य पदार्थ, स्वास्थ्य सामग्रीहरूको अभाव भइरहेको पनि विश्व समुदायलाई जानकारी गराएका छन् । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबान समूहले हातमा लिएपछि अफगानिस्तानमा थप संकट उत्पन्न भएको छ । तालिबानले चलाउने सरकार कट्टरपन्थी हुने भएकाले उनीहरू उदार नहुँदासम्म सहयोग गर्न नसकिने विभिन्न देशहरूको अडान छ । विभिन्न देशहरूले अफगानिस्तानलाई दिने सहयोग रोकेकाले राष्ट्रसंघले सहयोग जुटाउनका लागि पहल गरेको छ।-एएनआई/Photo: Agency

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!