शनिबार, आश्विन ०२, २०७८ || 398  पटक पढिएको

राजनीति कसका लागि गर्ने हो ? यसबारे व्याख्या फरक भए पनि अन्ततः राजनीति भनेको देश र जनताका लागि हुनु आवश्यक छ ।

राजनीति कुनै पेशा होइन, व्यापार होइन । तर राजनीति व्यवसाय बन्दै गएको छ । यो व्यवसाय जनताको हितका लागि भन्दा पनि सम्पन्नता हासिल गर्न केन्द्रित छ । राजनीति आस्थाभन्दापनि सुखसयल र मोजमस्तीको पर्याय बन्दै गएको छ ।
समाजको मुहार फेर्नका लागि भन्दै मानिसहरू राजनीतिमा होमिने धेरै छन् । सच्चा राजनीति गर्ने अधिकांशले सर्वस्व गुमाएका छन् र अध्याँरोमा गुमनाम बनेका छन् । भाग खोज्नेमध्ये केहि भाग्यमानीले राजनीतिलाई ढाल बनाएर कमाएका छन् । हिजो घिसिएको चप्पलमा हिँड्नेहरूको आज आलिसान भवन र चिल्लो गाडी छ ।

बीपीले विलासितयुक्त राजनीतिको चिन्तन गरेका थिएनन् । उनले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरेका थिए । तर आज के बीपीको चिन्तन साकार भएको छ त ? यो सोच्न जरूरी छ । बहुदलीय प्रजातन्त्रको प्राप्तिपछि नेताहरूले राजनीतिलाई खेलौना बनाए । नीति, नियम र कार्यक्रम आसपासेको गोजीमा बस्न पुग्यो ।

हक लाग्ने प्रजातन्त्रबाट आम जनताको अधिकार खोसियो । सिंहदरबारबाट जनताको घर दैलोसम्म पु¥याउने भनिएको अधिकारले बीचैमा दम तोड्यो । अधिकारको कुरा जनताबाट परै रह्यो, जनता त केवल पार्टीहरूको झण्डा बोक्ने र सडकमा चिच्याएर नारा लगाउने मतियार मात्र हुन पुगे । राजनीतिले समाज त परिवर्तन भएन तर राजनीतिको आडमा कैयौंले पैसा, पद र प्रतिष्ठा भने कमाएकै हो यसमा कसैको दुई मत नहोला ।

मुलुकमा राजनीति फोहरी खेल बनिदिँदा शोषक झन झन बलियो हुँदै गए भने निमुखा रसातलमा धसिन पुगे । राजनीति गर्न पनि अकुत सम्पत्ती चाहिने भयो । जोकोहीले पैसाको अभावमा निर्वाचन समेत लड्न नसक्ने भए । आदर्श र नितीले भन्दापनि दारू र मासुले चुनाव जित्ने अवस्था निम्तियो । नितीले चरित्र निर्माण होइन की पैसाको ताण्डव नाच्नेले प्रतिष्ठा कमाउने भए । लोकतन्त्र स्थापनाका लागि दिलोज्यान दिएर एक छाक गुन्द्रुक र मोटो चामलका भात खाएर राम्रै भूमिका खेले । तर पछि सत्ताको माद र पैसाको उन्मादमा हिजोको कहाली लाग्दो दिन विर्सिएर मार्सी चामलको भातमा रमाउने भए । जनता जहिलेपनि पीडित बनीनै रहे ।

अधिकांश जनताको अवस्था आजपनि जसका तस छ । राजनीतिमा पैसा हावी हुँदै गयो । राजनीतिको नाममा विभिन्न दलमा डन, माफिया, तस्कर, दुई नम्बरी व्यक्तिहरूको घुसपैठ भयो र पैसाको बलमा झनै हाली मुहाली बढेर गयो । तर लुटको धन फुपुको सराद भनेझैं राजनीति सोझासिधाको हातबाट माफिया र डनको सेरोफेरोमा घुम्न थाल्यो । आर्दश र निष्ठासँग सम्झौता नगर्ने कसम खाएकाहरू पनि विकाउ बनेको देख्दा आम मानिसमा उदेकको अवस्था नआएको भन्न सकिन्न ।

राजनीतिलाई चोख्याउन जरूरी छ । पैसाको बलमा उफ्रिने ठुटे नेताको पछि लाग्नु भन्दा मर्यादा र आदर्शको सिद्धान्त बोकेर राजनीतिमा होमिएकाको पछाडि लाग्नु श्रेयकर हुने छ । विपीले राजनीतिक माफियाहरूलाई अझ धनी भएको हेर्न चाहेका होइनन् उनले घाममा पसिनाले लुछुप्पै भिजेको खेतमा काम गर्ने किसानको मुहारमा खुशी हेर्न चाहेका हुन् जुन अझै सम्भव बनेको छैन । आम मानिस हालको राजनीतिदेखि खुशी छन् त ? यक्ष प्रश्न यहि हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!