शनिबार, आश्विन ०२, २०७८ || 596  पटक पढिएको

नेपालमा उत्पादित अधिकांश धानको चामलबाट भुजा र च्युरा बनाइन्छ । तर भारतको आयातित चामललाई स्वादिष्ट र बास्नादार मानेर ‘वाह !’ भन्दै खानेको जमात बढ्दो छ ।

प्रदेश नं. १ को खाद्यान्न वासलातलाई केलाउने हो भने मोरङ खाद्यान्नमा आत्मनिर्भर छ । विडम्बना चामल, गहुँ सबै भारतबाट मोटो परिणाम र रकममा आयात हुने क्रम भने रोकिएको छैन । मोरङमा ०७६÷०७७ मा ८१ हजार ६३४ हेक्टरमा धान रोपिएको थियो ।

३ लाख ३४ हजार ६९९ टन धान फलेको थियो । ०७७÷०७८ मा केहि कम ८०८०१ हेक्टरमा धान रोपिएको भए पनि उत्पादनमा वृद्धि भएको थियो । ०७७÷०७८ मा समयमा वर्षा भएको हुनाले ३ लाख ४९ हजार ६० टन धान उत्पादन गरिएको थियो ।

भारतबाट चामल आयातमा कुनै असर परेन । नेपाली बजारमा भारतीय चामलको माग उच्च भइरह्यो र, आयात घट्नुको साटो बढ्दै गयो । चित्तबुभ्mदो परिणाममा धान उत्पादन भएपनि अधिकांशको भान्सामा भारतीय चामलनै पाक्छ । आकर्षक प्याकेजले उपभोक्तालाई आकर्षित गरेको छ ।

विभिन्न आकर्षक भारतीय ब्राण्डका बासमती, लाम्चा, मसिनो र बास्नादार चामललाई मोरङबासीले स्वाद मानेर खाने गरेका छन् । तर नेपालमा उत्पादन गरिने धानबाट निस्किएको चामललाई च्युरा र भुजा बनाइने गरिएको छ ।
मोरङमा उत्पादन हुने धानको चामल पकाउन मोरङवासी आकर्षित हुने गरेका छैनन् । विराटनगरस्थित कृषि विकास निर्देशनालयकी बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ नेपाली चामलको तुलनामा भारतीय चामल स्वादिष्ट र सस्तो भएको बताइन । उनले मसिनो चामलको तुलनामा बढी मोटो चामलको धान उत्पादन गरिने र त्यति स्वादीलो नहुने भएकोले नेपाली चामल च्युरा र भुजा बनाउन खपत हुने गरेको बताईन् ।

बाली विकास अधिकृत एलिशा खड्काले विउको क्षमतामा वृद्धि गरी विशाल क्षेत्रमा गुणस्तरीय धान रोपेर स्वादिष्ट चामल उत्पादन गर्न सकिने बताइन् । राम्रो जातको मसिनो चामलको धानलाई हेरचाह अधिक चाहिने भएको हुनाले नजिकको प्राविधिकसँग समन्वय गरेर किसानले रोग लाग्न नदिएर उत्दपादकत्व बढाउन सक्ने बताइन् । खड्काले नेपालमा उच्च जातको हाइब्रीड चामलको उत्पादन गर्न नसकिएको जानकारी गराइन् ।

उनले आफू कार्यरत निर्देशनालयबाट किसानलाई प्रोत्साहन स्वरूप अनुदान प्रदान गर्नेबाहेक अरू केहि काम हुन नसकेको र गुणस्तरीय स्वादिष्ट चामलको धान उत्पादनमा खासै योगदान गर्न नसकेको गुनासो गर्दै नेपाल कृषि अनुसन्धान परिषद ‘नार्क’ ले विउविजनको क्षेत्रमा न त ठोस अनुसन्धान गरेको न त कुनै किसिमको समन्वय गरेको आरोप लगाइन् ।
निर्देशनालयका प्रकास डाँगीले नेपालमा उत्पादन भएका धान र चामल पनि भारततर्फ निकासी हुने गरेको बताए । उनले पहाडमा पनि कोदो र फाफरको ढिढोको साटो च्युरा र भुजा खाने चलन बढेको भन्दै नेपालीमा लामा, मसिनो र चिल्ला चामल खाने प्रवृत्ति बढेको बताए । एक तथ्याङ्क अनुसार नेपालमा प्रति व्यक्तिले प्रति वर्ष १३८ किलो चामल खाने गरेका छन् ।

उन्नत जातको मसिनो चामल फल्ने धान लगाउन किसान त्यति आकर्षित देखिँदैनन् । कृषि प्रणालीमा आकाशे पानीको भर, स्याहार सुसार, गुणस्तरीय विउ, आवश्यकता अनुसारको मलको समस्या, बिक्री केन्द्रको अभाव र लगानी बढी चाहिने हुनाले किसान मसिनो र बास्नादार चामलको धान रोप्न झिझो मान्ने गरेका छन् । लगानी, पानी र मल कम चाहिने र धेरै प्रतिफलका कारण किसानहरू रञ्जित, हर्दिनाथ, सादा मन्सुली जस्ता मोटा र बास्ना नभएको धानको उत्पादनमा बढी केन्द्रित छन् । यस्तो धानको चामलको भात पकाएर खानुभन्दा पनि च्युरा र भुजा बनाउने प्रचलन बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!