हिपमत डटकम

मंगलबार, भाद्र २९, २०७८ || 1066  पटक पढिएको
दीपेन नेउपाने

निकै भयो मानिसले सामाजिक सञ्जाल चलाउन थालेको । त्यसमा पनि नेपाली नागरिकले सामाजिक सञ्जालको उपयोग गरेको त्यति लामो समय भएको छैन । तथापि नेपाली नागरिकहरू पनि सामाजिक सञ्जालमुखी बन्दै गएको आभाष हुने गरेको छ ।

कसैलाई नसोधीकन, नभेटीकन र फोनसमेत नगरीकन मानिसले आफ्ना विचारहरू सामाजिक सञ्जालमा राख्ने गरेका छन् । त्यस्तै ती सामग्री पढ्न र प्रतिक्रिया दिन पनि कसैले कसैलाई सोधिरहने झन्झट पनि हुँदैन ।

यसरी सजिलै आफूखुशी आफ्नो अभिव्यक्ति पस्किन सकिने भरपर्दो माध्यम बनेको छ सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा पोट्याएको सूचनाको आधारमा मानिसहरू बिहाबटुलो, मलामी, पूजाआजा, पाटी, भेला, बैठकमा उपस्थित हुने क्रम पनि क्रमशः बढ्न थालेको छ ।

अर्थात् सामाजिक सञ्जाल आवश्यकताको साधनजस्तो पो हुन थालेको छ त नागरिककका लागि । पछिल्लो समय सामाजिक सञ्जाल सूचनाको भरपर्दो माध्यम बन्न थालेको धेरैले महसुस गर्न थालेका छन् । यो माध्यम विश्वासिलो बन्दै गएको छ ।

तथापि यसको उपयोग सँगसँगै यसको दुरूप्रयोग पनि उत्तिकै हुने गरेको छ । सामाजिक सञ्जालको दुरूप्रयोगबाट बच्न मानिसलाई निकै गाह्रो हुने गरेको छ । सामाजिक सञ्जालको दुरूप्रयोगबाट समाजमा सानाठूला दुबैखाले घटना अनि दुर्घटना हुने गरेका पनि छन् ।

जसको परिणामस्वरूप मानिसले अप्रत्यासित घटनाहरू व्यहोर्ने गरेका पनि छन् । सामाजिक सञ्जालका यसखाले दुरूप्रयोबाट उत्पन्न विकृति र अति स्वतन्त्रताजस्ता क्रियाकलापलाई निश्चित दायरामा ल्याउन राज्यले पहल नगरेमा विकराल समस्या उब्जन सक्छ । जुन समस्यालाई बेलैमा समाधान गर्न सरकारले पहल गर्न ढिलो हुन आँटिसकेको छ ।
सामाजिक सञ्जालमार्फत गालीगलौज, खिस्सिट्युरी र व्यक्तिको चरित्र हत्याजस्ता कार्य अमर्यादित र अशोभनीय कार्य हुन् । यिनलाई रोक्न सरकारले कानुनको तर्जुमा गर्न अति आवश्यक भैसकेको छ ।

यस कार्यमा सरोकारवाला निकायले पनि उत्तिकै भूमिका निर्वाह गर्नु पर्दछ । उपभोक्तावादीहरूले पनि सशक्त आवाज बुलन्द गर्न सक्नु पर्दछ । समयमै सबै नागरिकहरूलाई सचेतना दिलाउनु पर्दछ ।

सामाजिक सञ्जालले बेरोजगार उत्पन्न गर्न काम गरेको एक थरिको आरोप पनि छ । किनकि मानिस सामाजिक सञ्जालमा घण्टौंसम्म लिप्त हुँदा कुन काम कतिखेर गर्ने भन्ने नै बिर्सन थालेको छ । अर्को कुरा सामाजिक सञ्जाल हेनेै क्रममा धेरै समय मोबाइल चलाउनुपर्ने भएको कारण मानिसको आँखामा समस्या आउनुका साथै गर्दन र ढाडमा समस्या अत्यधिक आउने गरेको छ ।

सामाजिक सञ्जालको बढी उपयोगले गर्दा मानिसले स्मरण शक्ति गुमाउँदै जाने अवस्था पनि सिर्जना भएको छ । १६,१७ वर्षको लक्का जवान युवायुवतीले समेत बिर्सने क्रम अत्यधिक हुने गरेको चिकित्सकहरूको भनाइ छ ।
अर्कोतर्फ अनलाइन कक्षामा बस्ने ससाना बालबालिकाहरूको आँखाको दृष्टि गुम्ने अवस्था पनि देखा परेको छ ।
तसर्थ, सामाजिक सञ्जाल सही सलामत ढंगले सञ्चालन गर्न सरकारको सही निर्णय आउनु जरूरी भइसकेको महसुस गर्न सकिन्छ । सामाजिक सञ्जालमा पोस्ट्याइएका सबै सामग्री सही हुन्छन् भनेर भर पर्नेहरू यतिखेर तीनचित खाने गरेका थुप्रै उदाहरणहरू दिन सकिन्छ ।

मानी लिऔं अर्खरै संखुवासभाको उम्लिङमा भएको एक कार्की परिवारको सामूहिक हत्या प्रकरणलाई लिन सकिन्छ । यस घटनामा सामाजिक सञ्जालमा अनेकखाले तथ्यहीन सूचना सामग्रीहरू पस्किएको हेर्न र पढ्न पाइन्छ । जुन सामग्री विश्वासयोग्य छँदै छैनन् ।

यसले मानिसहरूको मनलाई दोधारे र अस्पष्ट बनाइ दिएको छ । त्यस घटनाका बारेमा सञ्चारमाध्यमले पनि यर्थात सूचना दिन नसकेको अवस्थामा विभिन्न व्यक्तिहरूले अपुष्ट र मनगडन्ते अनुमानका भरमा आफ्नो विचार सामाजिक सञ्जालमा राखिदिंदा आममानिसमा अन्यौलता सिर्जना भएको छ ।

त्यस्ता सामग्रीबाट स्थानीयबासीहरू वाक्क दिक्क भएका छन् भने पीडितका आफन्तहरू प्रताडित हुन पुगेका छन् । यसो हुनु राम्रो होइन । यसमा सामाजिक सञ्जालको दोष होइन । दोष त सामाजिक सञ्जाल चलाउनेहरू कै हो । यसमा नियमनको खाँचो पल्टिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!