सोमबार, भाद्र २१, २०७८ || 432  पटक पढिएको

सरकारी कार्यालयहरू बिहान १० बजेदेखि संचालन गर्नु पर्ने नियम छ । तर कार्यालयमा बिहानको १० बजे कमै कर्मचारीहरू उपस्थित हुन्छन् । विराटनगरका अधिकांश कार्यालयका कर्मचारीले ठ्याक्कै बिहान १० बजेदेखि सेवा प्रवाह गरेको पाइँदैन । अधिकांश कर्मचारी अबेर कार्यालय आउने र सुस्त गरी कार्यसम्पादन गर्दा कार्यप्रणालीमा समेत असर परेको छ ।

कर्मचारीहरू सवा १० बजेपछि मात्रै कार्यालय छिर्छन् ।

बिहानको १० बजे खुल्ने कार्यालय प्रायः साढे १० बजेपछि मात्र संचालनमा आउने गर्छ र चहलपहल शुरू हुने गर्छ । सरकारी कार्यालयहरू नियम अनुसार विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्छ । कर्मचारीहरूले नियम माने त १० बजेदेखि नै काम थाल्नु पर्ने हो ।

तर कर्मचारीहरूको कार्यालय आउने समय आपूm खुसी छ । प्रायः जसो कार्यालयमा बिहानको १० बजे कमै मात्र कर्मचारी पुग्ने गरेका छन् । १० बजे वा त्यो भन्दा अगाडि पुग्ने कर्मचारीमा सफाई कर्मचारी र कार्यालय सहायक रहने गरेका छन् । ठुलाबडा कर्मचारी आरामले आफ्नै अनुकुलको समय मिलाएर कार्यालय आउने गरेका छन् ।

केहि कर्मचारीहरूमा कार्यालय ढिलो गरी जाने मानसिकता नै विकसित भएको छ । कतिपय कार्यालयका कार्यलय प्रमुख सुस्त भइदिँदा कर्मचारीले त्यसको फाइदा उठाउँदै जतिबेला आएपनि बिहान १० बजेदेखिकै हाजिरी गर्ने गरेका छन् । प्रभावशाली कर्मचारीले दुई तीनदिनको एकैपटक हाजिरी गरेपनि प्रमुखले केहि गर्न नसक्ने अवस्था छ । कार्यालयहरूमा थम्पिङ्ग मेशिनबाट हाजिरी प्रणालीको व्यवस्था गरिएपनि बिग्रीएको भेटिन्छ ।

कर्मचारी ढिलो गरी आउने प्रवृत्तिले सेवाग्राही हैरान बन्ने गरेका छन् । विराटनगर–१० का विनोद बस्नेत कामका लागि समयमै सरकारी कार्यालय जाँदा कर्मचारी नभेटिने गुनासो गर्छन् । ठ्याक्कै १० बजेपुग्दा पनि सरकारी कार्यालयका कर्मचारी नआइपुग्दा सुनसान बन्ने गरेको र कामका लागि पर्खनु पर्ने बाध्यता रहेको बताए । उनले एकातिरको काम पर्खदा अर्को तिरको काम सम्पन्न नहुने र एकैदिनको कामका लागि कैयौं दिन लगाउनु पर्ने गुनासो सुनाए ।

एक सरकारी कार्यालयका कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा सरकारी कार्यालयमा कर्मचारीहरूले बिहानको १० बजेदेखि काम शुरू गर्नु पर्ने नियम रहेको बताए । उनले कर्मचारीमा कार्यालय ढिलो आउने र हतार गरेर घर जाने प्रवृत्ति बढ्दै गएको बताए । कतिपय कर्मचारीहरू कार्यालयमा आएपनि सेवाग्राहीलाई कुराएर हाकिमको कोठामा गफ मारेर बस्ने, मोबाइलमा व्यस्त हुने वा निजी काममा संलग्न हुने गरेको ती कर्मचारीले बताए ।
उनले कर्मचारीहरूपनि काम विशेषले आफैं अर्को कार्यालयमा सेवा लिन जाँदा आफूले गरेजस्तै व्यवहार त्यहाँका कर्मचारीले गरेको देख्दा भने आक्रोश पोख्ने तर आफै नसुध्रिने प्रवृत्ति रहेको बताए ।
विराटनगरका व्यस्त कार्यालयहरूमा पनि केहि कर्मचारी जिम्मेवार बन्न सकेका छैनन् । कार्यालय ढिलो आउने र आएपनि फाँट–फाँट चाहर्ने बानीका कारण सेवाग्राही बेलाबेलामा हैरान बन्ने गरेका छन् । फिल्डमा खटिने कर्मचारी पनि बाहना बनाउन माहिर बनेका छन् । आफू खुसी कार्यालयमा उपस्थित हुने र फिल्डमा गएको भन्दै जथाभावी हाजिरी गर्दा पनि सम्बन्धित कार्यालयका हाकिम कारवाही गर्न उदासिन बनेका छन् ।

तिनीहरूले साच्चै नै फिल्डमा गएर काम गरेको वा नगरेको बारे कुनै सोधपुछ हुँदैन । सरकारी कर्मचारीले आ–आफ्नो कार्यालयमा समयमा पुगेका छन् कि छैनन् भनेर अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय उदाशीन बन्दा कर्मचारीहरूमा समयमा कार्यालय पुग्ने बानी हराउँदै गएको हो । पब्लिक फोरम मोरङका अध्यक्ष उत्तम ढुंगेल कर्मचारी समयमा नपुग्नुलाई रोगको संज्ञा दिन्छन् ।

उनले भने ‘ नेपाल सरकारका कर्मचारी समयमा नपुग्नु, समयमा सेवा दिन नसक्ने रोग पुरानो हो, यो कुनै नयाँ होइन । गणतन्त्र आएपनि केहि कर्मचारीमा सुशासन आउन सकेन । कार्यालय समय शुरू भएदेखि नै सेवा प्रवाह भएको वा नभएको हेर्ने निकाय जिल्ला प्रशासन कार्यालय मोरङको दायित्व हो । ’ यस बारे मोरङका प्रमुख जिल्ला अधिकारीसँग फोन सम्पर्क गर्दा उनको मोबाइल उठेन ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!